नेवाः राष्ट्रिय मुक्ति मोर्चाबाट राजीतिमा प्रवेश गरेका ललितपुरका जुझारु युवा नेता विजय खड्गी ललितपुर महानगरपालिको मेयरको रुपमा चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय उद्योग व्यापार संघ ललितपुरको अध्यक्ष र केन्द्रीय सचिवालय सदस्य समेत भएर कामम गरिसकेका उनी स्थानीयबासीमा अत्यन्तै परिचित र छिट्टै घुलमिल भइहाल्ने स्वभावका छन् । स्थानीय तहको निर्वाचनमा हाल उनी शंख चिन्हसहित मैदानमा छन् । उनको उम्मेदवारीबारे गरिएको कुराकानीको सारसंक्षेप :
तपाईंले ललितपुर महानगरपालिकामा उम्मेदवारी किन दिनुभएको हो ?
यो महानगर भित्र आमूल परिवर्तनका लागि, नयाँ जनवादी क्रान्त्रि सम्पन्न गर्ने त्यस्तै जनयुद्धका सहिद, घाइते, बेपत्ता तथा अंगभंग भएकाहरुको माग पूरा गर्नुपर्ने आवश्यकता छ । राष्ट्रियता, जनतत्रन्त्र र जनजीविकाका सवालमा प्रश्न चिन्ह खडा भएका छन् । दलाल र राष्ट्रघातीहरुले नेपालको अस्तित्वमाथि धावा बोलिरहेका छन् ।
महानगरपालिका बनाइएपनि यसलाई संघीयताको मर्मअनुसार अधिकारसम्पन्न नबनाउने र केन्द्र तथा राज्यकै अधिनमा राख्ने, आदिवासी जनजातिहरुलाई अधिकारबाट बञ्चित गर्ने जुन कुचेस्टा भइरहेको छ । त्यसलाई भण्डाफोर गर्न र क्रान्तिकारी एजेण्डाहरु स्थापित गर्नका लागि मैले महानगरपालिकाको मेयरमा उम्मेदवार दिएको हुुँ ।
देशमा आफूलाई ठूला भनाउने राजनीतिक पार्टीहरुले स्थानीय तहलाई विबगतमा भ्रष्टाचारको अखडामा परिणत गरेका उदाहरण हामीसँग छन्, अहिले आएको माओवादी केन्द्र तिनीहरुलाई पनि उछिन्ने गरी त्यही दलदलमा फँसेकाले जनतालाई क्रान्तिकारी विकल्प दिनका लागि पनि मेरो उम्मेदवारी आएको हो ।
तपाईका चुनावी एजेन्डाहरु के के छन् ?
पाटनमा रहेका सांस्कृतिक ढुंगेधाराबाट पानी खसाल्नु मेरो प्रथम कार्य हुनेछ । बेरोजगार युवाहरुलाई कसरी स्वरोजगार बनाउने भन्ने विषयमा म सँग केही विशेष योजनाहरु रहेका छन् । त्यस्तै मठ, मन्दिर, भाषा, सिप, कला र संस्कृतिको संरक्षण एवम् विकास कसरी गर्ने तेस्रो योजना छ । शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सडक, खानेपानी जस्ता सामाजिक जनजीवनसँग जोडिएका विषयमा मैले प्राथमिकताका साथ काम गर्ने योजना बनाएको छ ।
पर्यटकीय नगरी ललितपुर पाटनमा लाखौं देशी विदेशी पर्यटक भित्र्याउँने पाँचौ योजना छ । स्थानीय तहका समस्या समाधान गर्न स्थानीय युवा नेतृत्व आवश्यक हुन्छ । नेवारी समुदायको नेतृत्व गर्न मैले आफूलाई सक्षम ठानी अन्य विविध योजना जस्तैः शिक्षा, स्वास्थ्य खाद्य, खानेपानी, सरसफाई, ढलनिकासबारे मैले काम अघि बढाउने छु । यीनै एजेन्डा लिएर म ललितपुर महानगरपालिकाको चुनावी मैदानमा उत्रिएको छु ।
तपाईको निर्वाचन जित्ने आधारहरु के के छन् ?
चुनाव प्रचारमा जाँदा महानगरै भरिका जनसमुदायको राय बुझियो । अधिकांश जनतामा पुराना राजनीति दलका परम्परित भ्रम, भ्रष्टचार, दलालीकरणबाट पाटनका जनता वाक्क भएका पाइयो । हाम्रो पार्टीको मजबुद स्थिति बुझियो । हामीसँग चुनाव जित्ने आधार हाम्रो पार्टीको विचार, भिजन र सही कार्यदिशा नै हो । हाम्रो सांगठनिक संरचना मजबुद छ ।
स्थानीय जनसमुदायबाट हामीलाई उत्साह र सहयोग पाएको छु । म यो निर्वाचनमा उठ्नुअघि देखि नै स्थानीय स्तरका समस्याहरु समाधानका लागि संघर्ष गर्दै आइरहेको छु । हरेक समस्याको समाधान छिटो भन्दा छिटो गर्ने मेरो महानगरमा म नै होला । त्यसैले मलाई महानगरका धेरै मानिसले चिन्छन् र लोकप्रिय मान्छन् । त्यो हुनुमा मेरो व्यवहार, काम र शैली हो ।
हाम्रो पार्टीको स्पष्ट भिजन र कार्यदिशा तथा अन्य दलहरुले अहिलेसम्म देशको नेतृत्व गरेका दलहरुप्रति तिव्र वितृष्णा पैदा भएको अवस्था छ । त्यसैगरी यहाँका विकासका प्रक्रिया लामो समयदेखि अवरुद्ध बन्दै आएको अवस्था छ । त्यसकारण पनि अब जनताले विकल्प खोजेको अवस्था छ । म र मेरो पार्टी क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल जनताको पहिलो विकल्प हो र निर्वाचन जित्ने बलियो आधार पनि यहि हो ।