आशा र उत्साहको चुनावी बातावरण बनेको छ : भीम श्रीस

आशा र उत्साहको चुनावी बातावरण बनेको छ : भीम श्रीस

तपाईले पोखरा लेखनाथ महानगरपालिकामा उम्मेदवारी किन दिनु भएको हो ?

–राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु अत्यन्तै जटिल बनेर गएका छन् । यी मुद्दाहरु जनस्तरबाटै उठान गर्न जरुरी बनेको छ । यी मुद्दाहरुमा जनसहभागिताको पनि त्यतिकै आवश्यकता खड्किएको छ । यी मुद्दाहरुलाई जनताको मुद्दा बनाउन र जनतालाई बोध गराउन मैले उम्मेदवारी दिएको हो ।

तपाई आफ्नो उद्देश्यमा कत्तिको सफल हुनु हुँदैछ ?

–निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीति लिएसँगै हामी जनताको घर घरमा पुग्यौं । हामीले हाम्रा वैचारिक, राजनीतिक र समसामयिक विषयमा आफ्ना धारणाहरु राख्यौं । हामी, हाम्रो मोर्चा र यसले लिएका नीतिको बारेमा जनतालाई बुझाउने मौका पायौं । जनतामा रहेको तथा पारिएको भ्रम चिर्न सफल भएका छौं ।

यस भेगका उत्पीडित आदिवासी जनजाति, उत्पीडत वर्ग, अल्पसंख्यक तथा सिमान्तकृत समुदाय हामीप्रति बढी आशावादी देखिएका छन् । निराशाका बादलहरु विस्तारै हटेर गएका छन् । आशा र उत्साहको बातावरण बनेर गएको छ ।

अन्य एजेण्डाहरु चाहिं के कस्ता छन् तपाईका चुनाव जित्ने ?
–स्थानीय निकाय कसरी चलाउनु पर्छ भन्ने मलाई राम्रो अनुभव छ । वाग्लुङको राङखानी गाविस अध्यक्ष भएर दशवर्षसम्म जनताको सेवा गरेको अनुभव छ मसँग । संसदवादी दलका स्थानीय नेतृत्व भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको छ । उनीहरु चुनावमा करडौं खर्च गर्छन् र पछि स्थानीय निकायमा रहेको बजेटमाथि ब्रम्हलुट मच्चाउँछन् ।

संसदीय चुनावको यो परम्पराजस्तै बनेको छ । साँच्चै स्थानीय तहको सर्वाङ्गीण विकास गराउने हो भने अनुभवी, इमान्दार र त्यागी नेतृत्वलाई जनताले छान्नुपर्दछ । मलाई आशा एवम् विश्वास छ, जनताले छान्ने नेतृत्वमध्ये पहिलो रोजाइमा म पर्नेछु । र, जनताले मेरो चुनाव चिन्ह क्यामेरामा मतदान गरेर आफ्नो मतको सदुपयोग गर्नेछन् ।

अरुले जस्तो झुठो आश्वासन दिन म चाहन्न । मैले जिते भने मैले यो पोखरा लेखनाथ महानगरलाई विश्वमा नै चिनाउने गरी यसका सबै पक्ष र क्षेत्रको अत्याधुनिक विकासमा लागिपर्ने प्रतिबद्धता जाहेर गर्दै आएको छु ।

आफ्नो राजनीतिक पृष्ठभूमिबारे संक्षिप्तमा बताइदिनुस् न ।
–हेर्नुस्, म इण्डियन आर्मीको जागिरे थिएँ । इण्डिया र पाकिस्तानका बीचमा लडाइँ हुँदा म पनि त्यस लडाइँमा थिएँ । त्यसैबेला मलाई मेरो देशको याद आयो । भाडाको सिपाही भएर अर्काको देशको लागि लड्नुभन्दा आफ्नै देशमा गएर खोले र रोटो खाएर भएपनि देशको सेवा गर्छु भन्ने प्रण गरेर आर्मीको जागिर छोडेर ०४० साल असारमा घर पर्के । र, पञ्चायती व्यवस्थाका विरुद्धको राजनीतिमा लागे । घर परिवार चलाउन धौ धौ थियो, त्यसबेला ७ सय ऋण थियो । भारी बोकेर त्यो ऋण तिरे ।

नेकपा मसालमा रहेर २० वर्षसम्म राजनीति गरें । ०५१ सालदेखि ०५८ सम्म राङखानी गाविसको गाविस अध्यक्ष भएँ । अरुले भन्दा गाउँमा धेरै विकास गरेँ । गाविस अध्यक्ष हुँदा पनि भारी बोकेर आफ्नो जीविको चलाएँ । तर इमान्दारितापूर्वक जनताको सेवा गरेँ । अहिले म माओवादी आन्दोलनभित्रको क्रान्तिकारी धारामा छु । देशभक्त जनगणतान्त्रिक मोर्चाको व्यानरमा स्वतन्त्रबाट स्थानीय तहको निर्वाचनमाा उम्मेदवारी दिएको छु ।