नेपालकै उत्कृष्ट व्यावसायिक ग्रुप गोल्छा ग्रुपले आगामी आर्थिक वर्षबाट नेपालमै बजाज बाइकको उत्पादन सुरु गर्ने भएको छ । १ सय ५० सीसी र १ सय २५ सीसीको बाइक उत्पादन गर्न गोल्छा समूहले सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनसाथ बजाज बाइक उत्पादन गरेर बजारमा ल्याउने गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए ।
‘बाइक उत्पादनका लागि नवलपरासीमा उद्योग स्थापना भइसकेको छ,’ उनले भने, ‘नयाँ बजेटको पर्खाइमा छौं, बजेट आउने वित्तिकै उत्पादन सुरु भएर बजारमा आउँछ ।’
नेपालमा सबैभन्दा बढी बजाज कम्पनीका बाइक बिक्री हुने गरेको गोल्छा समूहको दावी छ । बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द गोल्छाले सबैभन्दा बढी चल्ने एक सय ५० सीसीको बाइक उत्पादन गर्न लागेको हो ।
यातायात व्यवस्था विभागको अनुसार आर्थिक वर्ष २०७२–७३ मा २ लाख ६७ हजार ४ सय ३९ थान बाइक नेपाल भित्रिएको थियो । त्यसैगरी, आर्थिक वर्ष ०७१–०७२ मा एक लाख ९६ हजार ३ सय ८३ थान बाइक नेपाल भित्रिएको विभागले उपलब्ध गराएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७०–०७१ मा एक लाख ६३ हजार ९ सय ४५ थान बाइक नेपाल भित्रिएको देखिन्छ । त्यसमध्ये ३५ देखि ४० प्रतिशत बजार हिस्सा बजाज बाइकले ओगटेको गोल्छा समूहले दाबी गरेको छ ।
नेपालमै बाइक उत्पादन हुन थालेपछि सयौ मानिसले रोजगारी पाउनेछन् । ‘एउटा नयाँ उद्योग खुलेसँगै धेरैवटा साइट उद्योग स्थापना हुन बाटो खुल्छ,’ शेखरले भने, ‘साइट उद्योगले धेरै रोजगारी सिर्जना गर्ने देशलाई आर्थिक रुपमा सफल बनाउन पहल गर्छन्।’
उनका अनुसार कम्पनीले वार्षिक १८ हजार मोटरसाइकल उत्पादन गर्ने गरी उद्योग विभाग हुलास अटोक्राफ्ट प्रालि दर्ता गरेको हो । कम्पनीले बाइक निर्माण गर्ने उद्योग स्थापना गर्न झण्डै १ अर्ब रुपैयाँ लगानी गर्ने बताएको छ । उद्योग नवलपरासीको रामग्राममा रहने कम्पनीले उल्लेख गरेको छ ।
बर्षेनि १२५ सीसीका ८ हजार वटा र १५० सीसीका १० हजारवटा बाइक उत्पादन गर्ने लक्ष्य राखिएको छ । देशमै उत्पादन हुने भएकाले केही सस्तो हुने उनले जानकारी दिए।
१६ वर्षदेखि नेपालमा बजाज मोटरसाइकलको विक्री वितरण गर्दै आएको कम्पनीले आगामी आर्थिक वर्षबाट आफैले बजाजको बाइक उत्पादन गर्न थालेको हो । कम्पनीले नवलपरासीमा बजाजको एसेम्बल्ड प्लान्ट तयार गरिसकेको छ ।
गोल्छाका अनुसार बजाज बाइकको ३० प्रतिशत पार्टपुर्जा स्वदेशमै निर्माण गरिनेछ । त्यसका लागि नयाँ उद्योगको स्थापना हुने उनको भनाइ छ । ‘सबै उद्योग गोल्छा समूहले खोल्दैन,’ उनले भने, ‘बाइक बनाउन चाहिने सामग्री उत्पादन गर्ने उद्योग स्थापना हुन्छ।’
साइलेन्सर, स्ट्यान्ड, सिट कभर, टायरलगायतका पार्टपूर्जा नेपाली प्रयोग गरिनेछ । बाँकी सामग्री अन्य उद्योगबाट खरिद गर्ने कम्पनीले जनाएको छ ।































