एजेन्सी । भेनेजुएलामा सरकार विरोधी प्रदर्शनकारीले एक व्यक्तिलाई आगो लगाएका छन् । प्रदर्शनका क्रममा एक विश्वविद्यालयका विद्यार्थीको मृत्यु भएको हो ।
कराकसमा प्रदर्शनका क्रममा २१ वर्षीय ओरल्याण्डो फिग्वेरालाई आगो लगाइएको हो । गृहमन्त्रालयले उनीमाथि चक्कु समेत प्रहार गरिएको जनाएको छ ।
सो क्रममा प्रहरीको गोली लागेर एडी एनेहान्ड्रो एग्वीलारको समेत मृत्यु भएको छ । प्रदर्शनका क्रममा हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ ।
प्रदर्शनकारीले राष्ट्रपति निकोलास मादुरोलाई पद त्याग गरी निर्वाचन गराउन माग गर्दै आएका छन् । विरोध प्रदर्शन सुरु भएको ५० औं दिनको कार्यक्रममा ठूलो संख्यामा प्रदर्शनकारीहरु सामेल भएका थिए ।
प्रदर्शन लम्बिदै जाँदा लगातार हिंसात्मक समेत बन्दै गएको छ । पूर्वी काराकाशमा भएको प्रदर्शनका क्रममा ४६ जना घाइते भएको बताइएको छ ।