झर्रोटर्रो : चुनावी टेण्डर

झर्रोटर्रो : चुनावी टेण्डर

भर्खरै मात्र स्थानीय तह नामको चुनावी टेण्डर प्रकृया सम्पन्न भएको छ । संसदीय व्यवस्थामा चुनाउ भनेको साम, दाम, दण्ड र भेदको छक्कापञ्जा खेल हो । यो विशेष गरि टेण्डर प्रकृयाका रूपमा खेलिने खेल हो । साम, दाम, दण्ड र भेद मध्ये दाम, दण्ड र भेद नै यो प्रकृयामा समावेश गरिने औजार हुन् । त्यसका लागि सत्ताको तालाचावी आफ्नो हातमा हुनु अनिवार्य हुन्छ । त्यस्ता कम्पनीहरूलाई नै यो टेण्डर पर्ने गर्दछ । यदि सत्ताको तालाचावी आफ्नो हातमा भएन भने पनि विगतका दिनमा तालाचावी समाएर आफ्नो ढुकुटी बलियो बनाइसकेका र भविश्यमा कुनै पनि बेला समाउन सक्ने हैसियतमा रहेका कम्पनीहरूले नै यो टेण्डर हात पार्ने सम्भावना रहन्छ । किनकि उनीहरूसँग मात्रै दाम, दण्ड र भेदका औजार हुन्छन् । यस्ता औजार हुने कम्पनीहरू ‘क’ श्रेणीका ठेकेदार कम्पनीहरू हुन् । ‘क’ श्रेणीको लाइसेन्स प्राप्त कम्पनीहरूसँग मात्र यस्ता औजार राख्ने औकात र इजाजत हुन्छ । यस्ता कन्सट्रक्सन कम्पनीहरूलाई अन्तर्राष्ट्रिय कम्पनीहरूको सहयोग, समर्थन र विशेष आशिर्वाद प्राप्त हुन्छ ।

प्रथम चरणको टेण्डर प्रकृया बैशाख ३१ गते खोलिएको थियो । यो ठेक्का नेपाल मण्डलका तीन वटा ठूला कम्पनीहरूलाई प¥यो । चारतारे धार्मिक कन्सट्रक्सन प्रा.लि., सूर्यछाप विल्डर्स एण्ड एनजिओ प्रा.लि. र गोलघेरे गुप्तव्यापार टे«ड लिङ्क एण्ड माके कमिसन मिसन । यिनै तीनवटा प्रा.लि.हरूले प्रथम चरणको टेण्डर हात पार्न सफल भएका छन् । अब दोस्रो चरणको टेण्डर यहि जेठको ३१ गते खोलिँदै छ । त्यसमा मधेसतिरका एकादुई इन्टरनेश्नल प्रा.लि.हरूले पनि उक्त टेण्डर प्रकृयामा सहभागी हुने सम्भावना छ । परन्तु, उनीहरूलाई यो टेण्डर कमै मात्र पर्ने सम्भावना रहन्छ । किनकि उनीहरूको विओकेमा क्षेत्रीय र जातीय अङ्क बढि हुने र त्यसमा भाइचार कम्पनीहरूको स्वार्थ समावेश भएर आउने भएकाले टेण्डर कम पर्ने गर्छ । उनीहरूको सम्बन्ध सिधै अन्तर्राष्ट्रिय कम्पनीहरूसँग जोडिएको र उनीहरूकै लाइसेन्सबाट सम्वन्धन प्राप्त भएर आउने हुँदा उनीहरूले कम ठेक्का प्राप्त गर्ने गर्छन् ।

तीन वटा ठूला कम्पनीहरूको नामको निश्चित कारण छन् । जस्तो कि चारतारे धार्मिक कन्स्ट्रक्सन प्रा.लि.भनेको यो कम्पनी धर्ममा अडेको हुनाले यसले पाउने ठेक्का धार्मिक प्रकारले नै पर्ने गर्छ । चारतारे दल भनेको यो कुनै राजनीतिक पार्टी होइन । राजनीतिक दलको निश्चित विचार, दर्शन, राजनीतिक कार्यक्रम, वर्गआधार आदि हुन्छ । तर चारतारेको त्यस्तो केही पनि छैन । हजुरबाउ उहिले सात सालमा चारतारेमा लागेको हुनाले बाबु, छोरोहुँदै नाति र पनातिसम्म चारतारेमा छाप ठोक्दै आउने पुस्ता छ । अर्को कुरा चारतारेमा लाग्न विचार, दर्शन, राजनीति केहि नबुझे पनि हुन्छ । यो सङ्गठन धर्मभिरुहरूको जमात जस्तै हुने भएकाले यो कम्पनीको नाम ‘चारतारे धार्मिक कन्स्ट्रक्सन प्रा.लि.’ रहन गएको हो । त्यस्तै सूर्यछापको पनि यस्तै कारण छ । यो कम्पनी एनजिओ आइएनजिओमा टिकेको छ । यो कम्पनीमा लाग्ने जति सबैले कुनै न कुनै इनजिओ आइएनजिओमा लागेकै हुन्छन् । यसमा पनि विचार, राजनीति, दर्शनको जरुरत पर्दैन । ‘कमरेड मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद’ भन्नसम्म सक्ने भए पुग्छ । बहुदलीय जनवाद भनेको के हो भन्ने कुरा जानिराख्नु भने पर्दैन । सुगा राटान लगाए पुग्छ । बाँकी समय एनजिओमा लागेर डलरको खेति गरे पुग्छ । त्यसैले यसको नाम ‘सूर्यछाप विल्डर्स एण्ड एनजिओ प्रा.लि.’ रहन गएको हो । अब रह्यो गोलघेरे दलको । यो दलमा लागेका नेता कार्यकर्ता मध्ये धेरैजसो गुप्त व्यापार, जग्गाको दलाली र विकासे बजेटबाट कमिसन असुल्ने धन्दामा लागेका छन् । यो दलको मूख्य उद्देश्य एनिहाउ पैसा कमाऊ रहेको छ । त्यसैले यसको नाम ‘गोलघेरे गुप्तव्यापार टे«ड लिङ्क एण्ड माके कमिसन मिसन’ रहन गएको हो ।

अहिले नेपाल मण्डलको सत्ता यिनै तीन ठूला कम्पनीहरूको हातमा फनफनी घुमेको र यिनीहरूकै सिण्डिकेटमा चलेको हुनाले पहिलो चरणको चुनावी टेण्डर पनि यिनै कम्पनीहरूलाई नै परेको हो । टेण्डरको नियम नै साधन श्रोतले सम्पन्न कम्पनीहरूलाई नै कानूनी रूपमा टेण्डर दिनका लागि मूल्याङ्कन गर्नु पर्ने भएकाले यी कम्पनीहरूसँग माथि उल्लेख गरिएका दाम, दण्ड र भेदका औजार भएकाले यिनीहरूलाई दामासाहीले टेण्डर परेको हो । यसमा अन्य सानातिना भुरेभारे जस्ले आफूलाई वास्तविक रूपमा राजनीतिक दल ठान्दछन् उनीहरूले दुख मनाउ गर्नु मुनासिव छैन । किनकि यो व्यवस्था भनेकै ढाँटछल र लुटमार गर्न सक्ने, साम, दाम, दण्ड, भेद प्रयोग गर्न सक्ने र रैतिहरूलाई जात र धर्म अनुसारको खान्कीमा लठ्याएर ज्युँदा र मरेका सबै रैतीहरूका भोट बाकसका बाकस खसाल्न सक्नेले नै जित्ने व्यवस्था हो । यसको चरित्रअनुसार यसलाई टेण्डरप्रथा भन्नु उपयुक्त हुन्छ । किनकि यो व्यवस्थालाई लोकतान्त्रिक गणतन्त्र भनिन्छ । वास्तवमा यो सक्नेले लुट्ने र विरोध गर्नेलाई ठोक्ने तन्त्र हो । हार्नेजतिलाई चेतना भया ।
६ जेठ २०७४

kailubraha73@gmail.com