काठमाडौं । दलीय चुनाव चिन्हका लागि आन्दोलनरत ६८ दलको संयुक्त संघर्ष समितिले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रममा रिले अनसनदेखि निर्वाचन आयोगद्वारा गरिने चुनाव सम्बन्धी विभिन्न कार्यक्रममा अवरोध खडा गर्ने सम्म रहेका छन् ।
संयुक्त संघर्ष समितिले ३१ चैत्रमा पत्रकार सम्मेलन गरी घोषणा गर्न लागेको संघर्षको कार्यक्रममा बैशाख २ देखि ८ गतेसम्म विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म शान्तिबाटिका रत्नपार्कमा रिले अनसन बस्ने, बैशाख २ गते विहान ८ बजे विरोधसभा गरेर सबै दलका शीर्ष नेताहरुले अनसनको सुरुआत गर्ने, प्रत्येक दिन ३ बजे साँस्कृतिक कार्यक्रमसहित नागरिक समाजका अगुवा, कलाकार, व्यापारी तथा उद्योगपति, व्यावसायी संघसंस्था, ट्रेड यूनियन, सामाजिक संघसंस्था, दल तथा मोर्चाद्वारा ऐक्यबद्धता कार्यक्रम लगायत रहेका छन् भने स्थानीय तहमा निर्वाचन आयोग तथा स्थानीय तह निर्वाचन सम्बन्धी सरकारी तथा गैरसरकारी संघसंस्थाले संचालन गर्ने निर्वाचन शिक्षा, पर्यवेक्षण जस्ता सबै कार्यक्रम अवरोध गर्ने गराउने र आवश्यकता अनुसार धर्ना, जुलुस, सभा गर्ने र तीन दलीय सिन्डिकेटबाट लोकतन्त्रको हत्या हुन लागेको सन्देश प्रवाह गर्ने लगायत संघर्षका कार्यक्रमहरु रहेका छन् ।
संयुक्त संघर्ष समितिका एक नेताका अनुसार संघर्षका कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न पाँचवटा उपसमितिहरु बनाइएको छ ।