विश्वभरका माओवादीले थाले नयाँ अभियान, यसरी थपिदैछ उत्साह

विश्वभरका माओवादीले थाले नयाँ अभियान, यसरी थपिदैछ उत्साह

काठमाडौं । विश्वभरका माओवादी पार्टीहरु क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि जुटेका छन् ।

विश्वभरका माओवादी पार्टीहरुले पेरुका क्रान्तिकारी नेता गोञ्जालोको रिहाईको माग गरेका छन् भने आ–आफ्नो देशको सापेक्षतामा जनयुद्धको राजनीतिप्रति प्रतिबद्धता नयाँ ढंगले गरेका छन् ।

केही समयअघि मात्रै नेपालमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गोञ्जालोको रिहाईको माग गरेको थियो भने काठमाडौंमा यही चैत्र १४ र १५ गते बसेको नेकपा (क्रान्तिकारी माओवादी) ले पनि गोञ्जालोलाई तत्काल रिहा गर्न आग्रह गरेको थियो ।

यता ल्याटिन अमेरिकी देशका माओवादी पार्टीहरुको पाँचौं संयुक्त बैठकले विश्वको समग्र वस्तुस्थितिको विश्लेशषण गर्दै मालेमावादी राजनीतिलाई नयाँ उचाईमा उठाउने प्रतिबद्धता जाहेर गरेलगत्तै युरोपेली माओवादीहरु पनि एकजुट बनेका छन् ।

ल्याटिन अमेरिकी माओवादीहरुले गोन्जालोको रिहाइको विश्वव्यापी अभियान चलाउने निर्णय गरेको केही दिनपछि युरोेपेली माओवादीसम्बद्ध केही पार्टी तथा संगठनहरूको पहिलो बैठकले ल्याटिन अमेरिकी माओवादी पार्टीहरूले अघि सारेको अवधारणाप्रति ऐक्यबद्धता जनाउँदै जेलमा रहेका माओवादी नेताहरूको रिहाइको अभियानलाई तीव्र बनाउने निर्णय गरेको हो ।

जर्मनीमा बसेको सो बैठकमा फ्रान्स, जर्मनी, गालिसिया तथा अस्ट्रियाका माओवादी पार्टीहरु सामेल थिए । युरोपका सम्पूर्ण माओवादी पार्टीहरुलाई सो बैठकमा बोलाइएको भएपनि प्राविधिक कारणले सहभागी हुन नसकेको भन्दै कतिपयले शुभकामना सन्देश पठाएको बताइएको छ ।

युरोपेली माओवादी पार्टीहरुले जारी गरेको संयुक्त वक्तव्यमा युरोपेली पार्टी र संगठनहरुबीच आपसी सम्बन्ध, समन्वय र सहयोग बलियो बनाउनका लागि कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर अघि बढाउन उत्साह थपिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले संसोधनवादका विरुद्धमा र मार्क्सवाद–लेनिनवाद–माओवाद मुख्यतः माओवादका पक्षमा वैचारिक संघर्ष चलाउँदै सर्वहारा वर्गको संसार निर्माण गर्ने अभ्यासका रूपमा लिएका छौं ।’

बैठकले फिलिपिन्स, भारत, पेरु र टर्कीका माओवादी पार्टीहरुले सञ्चालन गरिरहेको जनयुद्धलाई दृढतापूर्वक समर्थन गर्नुका साथै विश्वका विभिन्न जेलमा रहेका नेताहरुलाई अभिलम्ब रिहाई गर्न माग गरेको छ ।

‘हामी तेस्रो विश्वमा सबैभन्दा पहिले माओवादलाई स्थापित गर्ने र जनयुद्ध चलाउने अध्यक्ष गोन्जालोको सन्दर्भलाई विशेष रूपमा उठाउन चाहन्छौं, साथै भारतीय जेलमा रहेका कमरेडहरू अजिथ, कमरेड कोबाध गान्धी र साइबाबाको जीवन रक्षाका लागि आवाज उठाउन पनि आह्वान गर्दछौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले जर्मनीमा आगामी जुलाई महिनामा हुन लागेको जी–२० को बैठकको कडा विरोध गर्नुका साथै महान् अक्टोबर क्रान्तिको शतबार्षिकी भब्यतापूर्वक मनाउन समेत सबै माओवादी पार्टीहरुलाई आग्रह गरेको छ ।

कमिटी फर दि कन्सट्रक्सन अफ कम्युनिस्ट पार्टी (माओइस्ट), गालसिया, कमिटिज फर दि फाउन्डिङ अफ दि (माओइस्ट) कम्युनिस्ट पार्टी, अस्ट्रिया, कमिटी रेड फ्लाग (एफआरजी), माओइस्ट कम्युनिस्ट पार्टी, फ्रान्सको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा साम्राज्यवाद, प्रतिक्रियावाद र संशोधनवादमाथि निर्मम प्रहार केन्द्रीत गर्न र साम्यवादको अन्तिम लक्ष्यसम्म पुग्नका लागि जनयुद्धलाई जारी राख्न पनि भनिएको छ ।

विश्वभर साम्राज्यवादी शक्तिहरुभित्रै विभाजन र संकट पैदा भइरपनि विश्वभरका सर्वहारा वर्ग एकजुट भएर त्यसको प्रतिवाद गर्न र समाज रुपान्तरणको मार्गमा अग्रसर हुन कठिन भइरहेका बेला भएको यो पहलकदमीलाई महत्वका साथ हेरिएको छ ।

विश्वमा बढ्दै गएको धनी र गरिबबीचको अन्तरविरोध, साम्राज्यवादी र सर्वहारा वर्गबीचको अन्तरविरोध, साम्राज्यवादी शक्तिमा देखा परेको नयाँ संकटका कारण विश्वमा एक पटक फेरि समाजवादी आन्दोलन नयाँ ढंगले स्थापित हुने अवस्थाको सिर्जना हुँदै गएको अवस्थामा हुने यस प्रकारका संगठित पहलले माओवादी आन्दोलनमा नयाँ आशाको सञ्चार गरेको छ ।