भुटानी शरणार्थीको व्यथा ‘देश खोज्दै जाँदा’

भुटानी शरणार्थीको व्यथा ‘देश खोज्दै जाँदा’

चैत्र २५, २०७३ । भुटानी शरणार्थीहरूको कथालाई लिएर बनाइएको फिल्म ‘देश खोज्दै जाँदा’ को बिहीबार एक कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरसँगै फिल्म जेठ १२ देखि प्रदर्शनमा आउने जानकारी दिइएको छ ।

दुई मिनेट लामो ट्रेलरमा भुटानी शरणार्थीले देश फिर्तीका लागि गरेको आन्दोलन, संघर्षसँगै शरणार्थी भई नेपाल बस्दाका दुस्ख, पीडालाई दर्साउन खोजिएको छ ।

नेपालमा दुई दशकदेखि शरणार्थी जीवन भोग्न बाध्य नेपालीभाषी भुटानीहरूको शिविर बसाइको वास्तविकतालाई निर्देशक प्रकाश आङदेम्बेले देखाउन खोजेको बताए ।

‘पाँच वर्षदेखिको अध्ययन र अनुसन्धानपछि यो फिल्म निर्देशन गर्न आँटेको हुँ,’ साहित्यकारसमेत रहेका प्रकाशले भने, ‘भुटानी शरणार्थीहरूको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा बाहय द्वन्द्वलाई मार्मिक र संवेदनशील भई उजागर गर्न खाजेका छौं ।’ फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।

हेमन्त बुढाथोकी, बाबु बोगटी, मीना कोइराला, अरुणा कार्की, सरिता ओली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा, प्रताप सुब्बा लगायत कलाकारको अभिनय रहेको फिल्मलाई सञ्जय लामाले खिचेका हुन् ।

कार्यक्रममा उपेन्द्र र हेमन्तले समेत भुटानी शरणार्थीको जीवनसँग फिल्ममार्फत जोडिन पाउँदा खुसी लागेको धारणा राखेका थिए । आभाषको संगीत रहेको फिल्मलाई मनोञ्जन श्रेष्ठले सम्पादन गरेका हुन् ।