काठमाडौं । ३१ बैशाखका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादन्मुख पार्टीहरुसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै हालै सम्पन्न मोर्चाको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको जनाएका छन् । शुक्रबार जारी गरिएको विज्ञप्तिमा अहिलेसम्म सत्तामा रहेर राष्ट्रघात, जनघात र भ्रष्टाचार गर्दै आएका प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादन्मुख पार्टी र तत्वहरुको सशक्त भण्डाफोर गर्ने निर्णय गरिएको पनि जनाइएको छ ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ :
“१. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल केन्द्रीय आयोजक समितिको बैठक २०७३ चैत्र १६ गते क.सीपी गजुरेलको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक जानकारीका लागि यो विज्ञप्ती जारी गरिएको छ ।
२. आगामी २०७४ बैशाखा ३१ गते हुने भनि घोषणा गरिएको स्थानीय तहको निर्वाचनलाई देजमोका तर्फबाट क्रान्तिकारी उपयोग गरिनेछ । त्यस प्रयोजनका लागि निर्वाचन घोषणापत्र तयार पार्ने लगायतका कार्यहरुलाई अगाडि बढाउने निर्णय भएको छ ।
३. निर्वाचनका दौरानमा सामन्त, दलाल, नोकरशाही र प्रतिक्रियावादी तत्वहरुका साथै अहिलेसम्म सत्तामा रहेर राष्ट्रघात, जनघात र भ्रष्टाचार गर्दै आएका प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादन्मुख पार्टी र तत्वहरुको सशक्त भण्डाफोर गर्ने कार्य हुनेछ ।
५. निर्वाचनमा मुद्दा तथा विषयवस्तु मिल्ने अन्य पार्टी र शक्तिहरुसँग तालमेल र समझदारी कायम हुन सक्नेछ । तर प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादन्मुख तत्वहरुसँग तालमेल हुने छैन ।
५. निर्वाचनसम्बन्धी अन्य अत्यावश्यक कार्यहरुका सम्बन्धमा निर्णय लिने अधिकार केन्द्रीय सचिवालयलाई प्रदान गरिएको छ ।”