परमाणु हतियारको पक्षमा शक्तिराष्ट्र, सुरक्षाका लागि आवश्यक भएको दावी

परमाणु हतियारको पक्षमा शक्तिराष्ट्र, सुरक्षाका लागि आवश्यक भएको दावी

एजेन्सी । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्यले परमाणु हतियारमाथि प्रतिबन्ध लगाउने छलफल बहिस्कार गरेका छन् ।

अमेरिका, बेलायत, फ्रान्ससहित ४० देशले नयाँ सन्धीमाथिको छलफल गर्न बोलाइएको राष्ट्र संघको बैठक बहिस्कार गरेका हुन् ।

अन्य १२० भन्दा देशले भने परमाणु प्रतिबन्ध लगाउने कानुनको समर्थन गरेका छन् ।

संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत निकी हेलीले परमाणु हतियारमाथि विश्वव्यापी प्रतिबन्ध लगाउनु यथार्थवादी कदम नहुने दाबी गरिन् । निकी हेलीले राष्ट्रिय सुरक्षाका लागि परमाणु हतियार जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘म आफ्नो परिवारका लागि परमाणु हतियारविहीन संसारभन्दा बढी केही चाँहदिन तर यथार्थवादी हुनुपर्छ । के कोइ यस्तो मान्दछ कि उत्तर कोरियाको परमाणु हतियारमाथि प्रतिबन्ध लगाउनका लागि तयार होला ?’

गत अक्टोबरमा राष्ट्रसंघको एक सम्मेलनमा परमाणु हतियारमा कानुनी रोक लगाउने सन्धिमा वार्ता गर्ने घोषणा गरिएको थियो । बेलायत, इजरायल, रुस र अमेरिकाले प्रतिबन्ध सन्धीका विरुद्ध मतदान गरेका थिए भने चीन, भारत र पाकिस्तानले यसमा भाग लिएका थिएनन् ।

त्यस्तै सन् १९४५ मा आणविक आक्रमण झेलेको एक मात्र देश जापानले समेत वार्ताको विरुद्धमा मतदान गरेको थियो ।