काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले सरकारले जारी गरेको अनलाइन निर्देशिका तत्काल खारेज गर्न माग गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतले शनिबार एक वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् ।
यस्तो छ वक्तव्यको पूर्णपाठ : “सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको अनलाइन निर्देशिकाप्रति हाम्रो संगठनको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । प्रेससँग सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको विरोध र परिमार्जनका लागि दिएको सुझावलाई समेत लत्याएर ल्याएको निर्देशिकाको हाम्रो संगठन कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्दछ । र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने प्रतिगामी र निरंकुश चरित्रको निर्देशिका तत्काल खारेजी गर्न जोडदार माग गर्दछ ।
साथै, हाम्रो संगठन नेपाल पत्रकार महासंघ, अनलाइन पत्रकार संघलगायत सरोकारवाला संघसंस्थाले उक्त निर्देशिका खारेजीको लागि चालेको कदमको स्वागत गर्दै ऐक्यबद्धता समेत जाहेर गर्दछ । छापा तथा इलेक्ट्रोनिक मिडियाहरुको तुलनामा विभेदकारी समेत रहेको निर्देशिका खारेज गरी प्रेससँग सम्बन्धित सरोकारवाला संघसंस्था, विज्ञहरुको सुझावमा आधारित रहेर अनलाइनमैत्री निर्देशिका जारी गर्न समेत हाम्रो संगठन माग गर्दछ ।”