काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीन भ्रमणमा जाँदै छन् ।
एशियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बिहीबारराति चीनतर्फ जान लागेको हो ।
भ्रमणका क्रममा कुनै सम्झौता भने नहुने भएको छ । चीन भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग छोटो भेटघाट गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तापछि उनले शनिवार बोआओ सम्मेलनलाई सम्बोधन गर्दैछन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा कुनै सम्झौता नहुने प्रष्ट पारेका थिए । भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र विदेश मन्त्री चीनमा नरहने भएकाले नेपालका तर्फबाट सबै तयारी गरिएपनि कुनै औपचारिक सम्झौता नहुने भएको हो ।
नेपालको तर्फबाट कनेक्टिभिटी, रेलवे, सडक निर्माण, ट्रान्समिसन लाइन, पारवहन र वान बेल्ट वान रोड लगायतका विषयमा सम्झौताका लागि सबै तयारी पूरा भएको उनको दाबी थियो । चिनियाँ राष्ट्रपतिसँग यिनै विषयमा छलफल हुने मन्त्री महतले बताए ।
चैत १३ गते प्रधानमन्त्री बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने नेपाल–चीन सम्बन्ध र समृद्धिका अवसर विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
सोही दिन चिनियाँ व्यापारी समुदायसँग छलफल गर्ने एवं विश्वविद्यालय परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गरिने कार्यक्रम छ ।
१५ गते नेपाली टोली तिब्बतको ल्हासा पुग्नेछ र त्यहाँ नेपाल–तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा तिब्बत सरकारका नेतासँग छलफल हुने छ । प्रधानमन्त्री दाहाल चैत १६ गते स्वदेश फर्कने कार्यतालिका छ ।
यसैबीच, चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान आजै नेपाल भ्रमणमा आउँदै छन् । तीनदिने भ्रमणका लागि उनी पौने एक बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता कार्यक्रम छ । चिनियाँ रक्षामन्त्रीसँगको भेटपछि प्रधानमन्त्री दाहाल चीन जाने छन् ।
श्रीलंकाको भ्रमण सकेर नेपाल हुँदै बेइजिङ फर्किन लागेका रक्षामन्त्री चाङले आजै नेपाली समकक्षी बालकृष्ण खाणसँग पनि भेटवार्ता गर्ने छन् । दुई देशका रक्षामन्त्रीबीच सेनाको सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।
चिनियाँ रक्षामन्त्रीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नेछन् । चाङको भ्रमण टोली १९ सदस्यीय हुनेछ ।






























