एजेन्सी । विश्वका अर्बपतिहरुको सूची सार्वजनिक भएको छ । विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गर्दै आएको विश्वविख्यात पत्रिका फोब्र्सले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यसवर्ष पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स नै पहिलो स्थानमा छन् ।
उनको सम्पत्ति ८६ बिलियन डलर रहेको बताइएको छ । जबकी अघिल्लो वर्ष उनको सम्पत्ति ७५ बिलियन डलर थियो ।
दुई नम्बरमा रहेका वारेन बफेटको सम्पत्ति भने झण्डै १५ बिलियनले बढेर ७५ दशमलव ६ बिलियन डलर पुगेको छ । ७२ दशमलव ८ बिलियन सम्पत्तिसहित तेस्रो नम्बरमा अमेजनका फाउन्डर जेफ बिजोस रहेका छन् भने फेसबुकका मालिक मार्क जुकरबर्ग पाँचौं नम्बरमा छन् ।
यसबर्ष विश्वमा अर्बपतिहरुको संख्या १३ प्रतिशत थपिएको छ । गत वर्षको सूचीमा २२० नम्बरमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसवर्ष ५४४ औं स्थानमा ओर्लिएका छन् ।
प्रतिवेदनअनुसार अमेरिकामा सबैभन्दा धेरै अर्बपति रहेका छन् । अर्बपतिको संख्यामा चीन दोस्रो र जर्मनी तेस्रो नम्बरमा छ । अमेरिकामा ५६५, चीनमा ३१९ र जर्मनीमा ११४ अर्बपति छन् । २ हजार ४३ अर्बपतिमा २२७ जना महिला रहेको पनि फोब्र्सले जनाएको छ ।
यो सूचीमा नेपालका उद्योगपति विनोद चौधरी १५६७ औं स्थानमा परेका छन् ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका सम्पत्ति १ अर्ब ३० करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड बढी हो ।
सन् २०१५ मा पनि उनको सम्पत्ति १ अर्ब ३० करोड डलर नै थियो । चौधरी पहिलो पटक २०१३ मा विश्वका अर्बपतिहरुको सूचीमा परेका थिए ।






























