सगरमाथा आरोहीलाई जीपीएस सिस्टम मार्फत ट्रया्किङ गरिने

सगरमाथा आरोहीलाई जीपीएस सिस्टम मार्फत ट्रया्किङ गरिने

८ चैत, काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई जीपीएस सिस्टममार्फत् ट्रया्किङ गर्ने भएको छ । जसका लागि पर्यटन विभागले सरोकारवालासँग आवश्यक छलफल अघाडी बढाएको छ । यो सुरुमा परीक्षणको लागि मात्र प्रयोग गरिने छ र सफल परीक्षण पछि मात्र पूर्ण रुपमा लागु हुने योजना बनाएको छ ।
कोही यस्ता सगरमाथा आरोही पनि भेटिए जसले सगरमाथा सफलता पूर्वक चढेको भन्दै झुटो विवरण दिने गरेको पाइए पछि सरकारले जीपीएस सिस्टम मार्फत ट्रयाकिङ गर्न लागेको हो । यसअघि भारतीय एक दम्पतिले सगरमाथा चढेको भनेर नक्कली फोटो सार्बजनिक गरेका थिए ।
पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले भने, ‘जीपीएस ट्र्या्किङबारे म्यानुफ्याक्चरिङ कम्पनिसँग एक चरणमा छलफल गरिसकेका छौं । सरोकारवालाहरुसँग पनि छलफल गर्छौं र उपयुक्त लागेमा आगामी अटम सिजनदेखि लागू गर्ने तयारीमा छौं ।’

यसको आवश्यकताबारे प्रकाश पार्दै ढकालले भने, ‘यस्तो प्रविधि विकसित देशहरुले प्रयोग गर्दै आएका छन् । तर, हामी परीक्षणको तयारीमा छौं । पर्यटन व्यवसायलाई विश्वव्यापीरुपमा एकरुपमा ल्याउन र ढाँट छललाई रोक्न पनि यसको आवश्यकता देखियो ।’

यो सिस्टमले कसरी काम गर्छ ?
जीपीएस ट्र्या्किङ सिस्टमको लागि एउटा मोबाइल आकारको डिभाइस हुन्छ जसलाई आरोही स्वयमले बोकेर लैजानुपर्छ । त्यसअघि सरकारको सरोकारवाला निकाय पर्यटन विभागले उक्त डिभाइसमा आरोहीको नाम, ठेगाना लगायतका सम्पूर्ण विवरण इन्ट्री गरेर आरोहीलाई दिन्छ । आरोहण सकिएपछि डिभाइसलाई आरोहीले सरकारको सम्बन्धित निकायमा फिर्ता गर्नुपर्छ जसलाई अर्को छुट्टै यन्त्रमार्फत रिड गरिन्छ । त्यसमा आरोहीले के गर्दैछ, कुन दिशाबाट आरोहण गरेको, कति उचाइमा पुगेकोलगायतका विस्तृत विवरण रेकर्ड भएको हुन्छ । त्यसको आधारमा आरोहण सफल भए नभएको पत्ता लगाउन सकिन्छ ।
ढकालले भने, ‘यो यन्त्रलाई व्यक्तिले तलमाथि गर्न सक्दैन । स्प्रीङ सिजनमा परीक्षण गर्ने र यो सफल भयो भने अटम सिजनबाट सबै आरोहीलाई अनिवार्य गर्ने योजना छ ।’
हिमाल आरोहणको क्रममा कुनै आरोही दुर्घटनामा परेको भए पनि यस यन्त्रमार्फत् पत्ता लगाउन सकिन्छ र उद्धारमा सहज हुने ढकालको विश्वास छ ।
विदेशी पर्यटकहरु अधिकांश हिमाल आरोहणका लागि नेपाल आउने गर्दछन् । नेपालको कुल गाह्रस्थ उत्पादनमा पर्यटन क्षेत्रको चार प्रतिशत योगदान छ ।