ग्वाटेमालाको बालबालिका स्याहार गृहमा आगलागी, १९ किशोरीको मृत्यु

ग्वाटेमालाको बालबालिका स्याहार गृहमा आगलागी, १९ किशोरीको मृत्यु

काठमाडौं । ग्वाटेमालाको एक बालबालिका स्याहार गृहमा आगलागी हुँदा १९ जना किशोरीको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।

ग्वाटेमाला सिटीबाट २५ किलोमिटर दक्षिण पूर्वमा पर्ने सान जोसे पिनुलामा रहेको स्याहार गृहमा आगलागी भएको हो । आगलागीमा परी १४ देखि १७ वर्ष उमेरका किशोरीको मृत्यु भएको हो ।

बालबालिका स्याहार गृहमै रहेका केही व्यक्तिका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिपनि घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

आगलागी हुनुअघि स्याहार गृहमा झडप भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । स्याहार गृहबाट झन्डै ६० जना बालबालिका भागेका छन् ।

अनाथ बालबालिका रहने स्याहार गृहमा रहेका बालिकामाथि यौन शोषण हुने गरेको भन्दै केहीले आलोचना गरेपछि झडप भएको बताइएको छ ।
चार सय जनाको क्षमता रहेको गृहमा आगलागी भएका बेला त्यो भन्दा धेरै रहेकाले पनि क्षति बढी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।