
काठमाडौं । स्पेनिस क्लब बार्सिलोना ऐतिहासिक पुनरागमन गर्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाएलनमा पुगेको छ ।
पहिलो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४–० ले पराजित भएको बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगको खेल ६–१ ले जित्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
दोस्रो लेगको खेलसँगै बार्सिलोनाले समग्रमा ६–५ को परिणाम निकाल्दै क्वाटरफाइनलमा पुगेको हो । अहिलेसम्म कुनै पनि टिमले च्याम्पियन्स लिगको पहिलो लेगमा ४–० को नतिजा उल्टाउन सकेका थिएनन् ।
खेलमा बार्सिलोनालाई विजयी गराउन नेइमारले दुई गोल गरे भने लुईस स्वारेज, लियोनल मेस्सी र सर्जी रोबेर्टोले एक–एक गोल गरे । बार्सिलोनाका लागि अर्को एक गोल पिएसजीका कुर्जावाले आत्माघाती उपहार दिएका थिए ।
च्याम्पियन्स लिगअन्तर्गत राति भएको अर्को खेलमा पोर्चुगलको बेनिफिकालाई ४–० ले हराउँदै जर्मनीको बोरुसिया डर्टमुण्ड पनि क्वाटरफाइनलमा पुगेको छ । डर्टमुण्डको जितमा पिएरे एमरिक औबामायङले ह्याट्रिक गरे भने क्रिश्चियन पुलिसिचले एक गोल गरे ।
पहिलो लेगको खेलमा १–० ले पराजित भएको डर्टमुण्ड दोस्रो लेगमा हात पारेको फराकिलो जितसँगै समग्रमा ४–१ को परिणामसहित क्वाटरफाइनलमा पुगेको हो ।