फाल्गुन २०, २०७३ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि आएका एक व्यक्तिमा स्वाइन फ्लुको जीवाणु देखिएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार ललितपुरका एक पुरुषमा यसको जीवाणु रहेको पुष्टि भएको हो ।
नेपालमा गत वर्ष वर्षायाममा स्वाइन फ्लुको जीवाणु देखिए पनि यसपटक निकै अगाडि देखिएको पुनले बताए । उनले भने, ‘दुई साताअघि रुघाखोकी र लामो समय ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शंका लागेर जाँच गर्दा जीवाणु भेटिएको हो ।’
खोकी लागिरहने, घाँटी खसखसाउने, १० दिनभन्दा बढी कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भए स्वाइन फ्लु भएको हुन सक्छ । यस्ता लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।
स्वाइन फ्लु सरुवा रोग एक(अर्कामा चाँडो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाच्छयुँ गर्दा रुमालले मुख छोप्ने, साबुनपानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शंका लागे बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने डा. पुनले बताए ।


























