काठमाडौं, फाल्गुन २० । सर्वोच्च अदालतको आदेशमा अर्थ मन्त्रालयका उपसचिव केदार पनेरु रसुवा भन्सार कार्यालयमा पुनर्बहाली भएका छन् । उनी बिहीबार भन्सारमा हाजिर भएका छन् । उनलाई मन्त्रालयले सरुवा अवधि नै नपुगी फिर्ता बोलाएको थियो । गत मंसिरमा काजमा मन्त्रालयमा हाजिर गराएर उनको स्थानमा गोपाल कोइरालालाई पठाइएको थियो । गत माघमा कोइरालालाई सरुवा गरी पनेरूलाई मन्त्रालयमा दरबन्दी कायम गरिएको थियो ।
कर्मचारी नियमावलीअनुसार दुई वर्ष नपुगी सरुवा गरेको भन्दै पनेरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनी उक्त भन्सारमा सरुवा भएको आगामी भदौमा दुई वर्ष पुग्दै छ । अदालतले पहिलेकै स्थानमा काम गर्न आदेश गरेपछि पनेरू भन्सारमा हाजिर भएका हुन् । सरुवा विवाद भएपछि मुलुकको उत्तरी नाका सञ्चालनमा समस्या भएको थियो । प्रमुखको विवादले तिब्बतको नयाँ वर्षपछि व्यापारिक कारोबार सञ्चालन हुन सकेको छैन । व्यापार बन्द हुँदा दुई सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा अलपत्र छन् ।