काठमाडौं । तपाईं घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छरु बेलैमा सचेत हुनुस्, श्रवणशक्ति गुम्ला !
यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायत समस्या पाइएको छ। उपचार गर्न अस्पताल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको सम्बन्धित चिकित्सक बताउँछन्।
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज इएनटी (नाक, कान, घाँटी) विभागका कानरोग विशेषज्ञ डा. रवीन्द्रनाथ प्रधानांगका अनुसार कानको समस्या लिएर आउने धेरैमा सुन्ने क्षमता कम भएको पाइएको छ। ‘सुरुमा कान बज्यो भनेर आएका हुन्छन्, परीक्षण गर्दा कम सुन्ने समस्या देखिन्छु’, उनले भने।
डा.प्रधानांगका अनुसार घन्टौं मोबाइलरफोनमा कुरा गर्ने, एयरफोनको बढी प्रयोग गर्ने, चर्को फ्रिक्वेन्सीमा संगीत सुन्ने युवामा यस्तो समस्या पाइएको नागरिकमा खबर छ।
‘उनीहरूले दैनिक आठदेखि दस घन्टासम्म फोनमै कुरा गरेको अध्ययनबाट देखिन्छ’, प्रधानांगले भने। यस्तो समस्या टेलिफोनमा काम गर्ने, फोन बढी प्रयोग गर्ने, चर्को आवाज आउने कारखानामा काम गर्ने, तोप, पड्काउने, फायरिङ गर्ने सैनिकलगायतमा बढी देखिएको छ।
कान कम सुन्न थालेपछि टेलिफोनमा काम गर्ने चार कर्मचारीले जागिरै छाडेको समेत डा. प्रधानांग सुनाउँछन्। कान नसुन्ने र कम सुन्ने समस्या लिएर अस्पताल पुग्नेमा २० देखि ५० वर्ष उमेरसम्मका बढी छन्। उनीहरू कानमा संक्रमणले नभई ध्वनि प्रदूषणका कारण नसुन्ने भएको प्रधानांगले बताए।
सो अस्पताल इएनटी विभागको तथ्यांकअनुसार २०७२ मा परीक्षण गराएका ६ सय ९० जनामा कम सुन्ने समस्या देखियो। तीमध्ये एक सय ५० युवा छन्।
त्यस्तै, वीर अस्पताल इएनटी विभागमा उपचार गराउनेमध्ये ६० प्रतिशत कानका रोगी मात्र छन्। त्यसमध्ये १० प्रतिशतमा सुन्ने क्षमता निकै कम पाइयो। विभागको श्रवण परीक्षण शाखाका अनुसार दैनिक औसत पाँच जना कान बज्ने समस्या लिएर त्यहाँ पुग्छन्।
वीरमा पनि कान बज्ने, कम सुन्ने र सुन्दै नसुन्ने समस्या लिएर परीक्षण गराउन पुग्नेमा १३ वर्षदेखि र ५० वर्ष उमेरसम्मका धेरै छन्। यस्तो समस्या आउनुमा मोबाइलमा घन्टौं कुरा गर्ने, एयरफोनमा चर्को गीत सुन्ने र ध्वनि प्रदूषण कारक देखिएको वीर अस्पताल इएनटी विभाग प्रमुख डा. ढुण्डीराज पौडेलले बताए।
डा. प्रधानांगका अनुसार नेपालमा पछिल्लो समय आइप्याड, मोबाइल प्रयोग बढेको छ। सानै उमेरमा यस्ता उपकरण घन्टौं प्रयोग गर्दा कानको समस्या बढेको हो। ‘दुई वर्षयता यो समस्या बढेको देखिन्छ’, उनले भने।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका एक अर्ब दुई करोड युवा ध्वनि प्रदूषणको जोखिममा छन्। चिकित्सकका अनुसार कुनै पनि व्यक्ति लामो समयसम्म ध्वनि प्रदूषणमा बसे कानको सुन्ने अंगको कोष नष्ट हुने र रासायनिक प्रतिक्रिया भई पछि बहिरोसमेत हुने खतरा हुन्छ। ‘लगातार ध्वनि प्रदूषणमा बस्दा बहिरो हुने समस्या पनि आउन सक्छ,’ डा. पौडेलले भने।
चिकित्सकका अनुसार चर्को ध्वनिका कारण सुरुमा कान बज्ने, दिक्दारी लाग्ने, निद्रा नलाग्नेजस्ता समस्या देखिन्छन्। लगातार यस्तो समस्या आए यसले जटिल रूप लिन्छ। ‘कतिपयमा मनोवैज्ञानिक तथा अन्य जटिलता उत्पन्न हुन्छ’, डा. प्रधानांगले भने। अडियोग्राम परीक्षणले श्रवण क्षमता कम भएको पत्ता लाग्छ।
चिकित्सकका अनुसार कानको समस्याबाट बच्न फोन र एयरफोनको प्रयोग बढी नगर्ने, प्रयोग गर्दा ह्यान्डस् फ्रि गर्ने, एसएमस प्रयोग बढी गर्र्ने, चर्को आवाज आउने कारखानामा लगातार धेरै समय काम नगर्ने, बेलाबेलामा परीक्षण गराउनुपर्छ।
चिकित्सकका अनुसार ८० डेसिमलभन्दा माथिको ध्वनिले कानमा असर पार्छ। सामान्य बोलीचालीको ध्वनि औसत ४० डेसिमलको हुन्छ।
मोबाइल, टेलिफोन, एयरफोन, बम, तोप, फायरिङ, इन्भर्टरको आवाज उच्च फ्रिक्वेन्सीका ध्वनिभित्र पर्छन्। चर्को वनिले आवाज सुन्ने अर्गान (ककलिया) को कोष नष्ट गरी कम सुन्ने समस्या आउँछ।