काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन संसदबाट पारित हुने अवस्था नरहेको यथार्थलाई स्वीकार गरेका छन् ।
यसअघि संसदबाट संशोधन प्रस्ताव पारित हुने आधार आफूहरुसँग रहेको दाबी गर्दै आएका प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताएका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटका क्रममा उनले राप्रपाले समेत संविधान संशोधन प्रस्ताव अघि बढाए समर्थन नगर्ने बताइसकेका कारण पारित हुने अवस्था नरहेको बताए ।
उनले भने, ‘प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान गर्ने उहाँहरुको प्रष्ट कुरा छ । यति कुरा जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित हुँदैन, फेल हुन्छ ।’ संविधान संशोधन प्रस्ताव फेल भएमा समस्या समाधान नभई झनै बल्झाउने उनको भनाई थियो ।
अहिलेको संविधान मान्दैनौं भन्दा मुलूक उल्टो दिशातिर जानसक्ने खतरा औल्याउँदै उनले प्राप्त अधिकार जोगाउँदै अगाडि बढ्नु राम्रो हुने उल्लेख गरे । सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले आदिवासी जनजाति प्रतिष्ठान खारेज नहुने स्पष्ट पारे ।
भेटमा आदिवासी जनजातिका प्रतिनिधिहरुले आदिवासी जनजाति उत्थान प्रतिष्ठान यथावत राख्न, जनजाति मन्त्रालय गठन गर्न, स्थानीय तहमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था गर्न, आदिबासी अधिकारसहित संविधान संशोधन गर्न, स्थानीय तहको सीमा निर्धारण गर्दा पहिचान जडित क्षेत्रलाई खण्डित नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।