काठमाडौं । एउटै पार्टीबाट आएर पार्टी विभाजनपछि पनि एउटै नामका फरक फरक समूहमा क्रियाशील विद्यार्थी संगठनको नाम स्ववियु निर्वाचन भरी फेरिने भएको छ ।

माओवादी निकट ३ वटा विद्यार्थी संगठनको नाम अखिल (क्रान्तिकारी) का पछाडि पार्टी अध्यक्षको नाम जोड्ने सहमति भएको छ । अब अखिल (क्रान्तिकारी) का पछाडि प्रचण्ड, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवको नाम समेत जोडिने भएको हो ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी संगठनको नाम एउटै छ ।

नाम र झण्डासमेत एउटै भएकाले आसन्न स्ववियु चुनावमा एक अर्को संगठनलाई चिन्नै नसकिने समस्या आएपछि स्ववियु निर्वाचनको संघारमा यी संगठनहरुले आफूलाई अलग–अलग तरिकाले चिनाउने नयाँ उपाय निकालेका हुन् ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु समेतको सहभागितामा बसेको क्रान्तिकारीका नेताहरुको संयुक्त बैठकले संगठनको नामको पछाडि माउ पार्टीका अध्यक्षको नाम लेख्ने सहमति गरेका छन् ।

अब स्ववियु चुनाव अवधिभर माओवादी केन्द्र निकट विद्यार्थी संगठनको नाम अखिल (क्रान्तिकारी) ‘प्रचण्ड’, क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)को नाम अखिल (क्रान्तिकारी) ‘मोहन वैद्य’ रहने छ भने नेपाल कम्युनिष्ट पार्टी निकटसंगठनको नाम अखिल (क्रान्तिकारी) ‘विप्लव’ लेखिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर