दलीय भागवण्डाका आधारमा १४ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले राजनीतिक भागवण्डाका आधारमा विभिन्न १४ देशका लागि राजदूतहरु सिफारिस गरेको छ ।

मन्त्रिपरिगादको सोमबार बसेको दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको कोटाबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस गरिएको छ ।

उनीहरु चारै जना केपी ओली नेतृत्वको सरकारमा पनि राजदूत सिफारिस भएका थिए । तर, सरकार परिवर्तनसँगै राजनीतिक रुपमा नियुक्त भएकाहरुको नाम फिर्ता लिइएपछि उनीहरु राजदूत हुनबाट बन्चित भएका थिए ।

माओवादी कोटामा राजदूत भएकाहरुमध्ये पदम सुन्दास दलित अधिकारकर्मी हुन् भने महेन्द्र सिंह त्रिविका पूर्वप्राध्यापक हुन् ।

पहिलो संविधानसभामा एमालेबाट सभासद भएकी लक्की शेर्पा दोस्रो संविधानसभाको निर्वाचनअघि तत्कालीन एमाओवादीमा प्रवेश गरेकी थिइन् ।

यस्तै शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । उनी फोरम लोकतान्त्रिकबाट परेकी हुन् । नेपाली कांग्रेसको कोटाबाट ६ जनालाई राजदूत सिफारिस गरिएको छ ।

अर्जुनजंगबहादुर सिंह दक्षिण कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।

राप्रपाको भागमा तीन राजदूत परेको छ । राप्रपाको कोटाबाट प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् ।

रायमाझी र थापा ओली सरकारका पालामा राजदूत सिफारिस भएर नाम फिर्ता लिइएकाहरुको सूचीमा पनि थिए । रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी हुन् भने थापा पूर्व गृहराज्यमन्त्री हुन् ।

ओली सरकारका पालामा राजदूत सिफारिस भएका खगेन्द्र बस्नेतको नाम भने यसपटक परेको छैन । उनको स्थानमा राप्रपाले पूर्व सभासद प्रतिभा राणालाई राजदूतमा सिफारिस गरेको हो ।