सरकारद्वारा वैशाख ३१ मा स्थानीय तहको चुनाव गर्ने घोषणा

सरकारद्वारा वैशाख ३१ मा स्थानीय तहको चुनाव गर्ने घोषणा

काठमाडौं । सरकारले आगामी बैशाख ११ गते स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लामो अन्यौलता र निर्वाचनको बहसकाबीच मिति घोषणा गरेको हो । सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगको परामर्शपछि स्थानीय तहको निर्वाचनको घोषणा गरेको हो ।

आगामी बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

चुनाव घोषणाको प्रमुख विपक्षी नेकपा एमालेका साथै सत्तारुढ राप्रपाले स्वागत गरेका छन् भने मधेसी मोर्चाले निर्वाचनको मिति घोषणाको विरोधमा दबाबमुलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

स्थानीय चुनाव घोषणाको तयारीकाबीच सोमबार मात्रै तीन पटक मन्त्रिपरिषदको बैठक बसेको थियो ।

पहिलो बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गर्दै स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदललाई सात दिने समय दिएको थियो भने दिउँसो बैठकले १४ देशका राजदूत नियुक्तका लागि सिफारिस गर्नुका साथै पाँच सचिवको सरुवा गरेको छ ।

साँझ बसेको तेस्रो बैठकले वैशाख ३१ मा स्थानीय चुनाव गर्ने औपचारिक निर्णय गरेपछि अब देशभर एकै मितिमा निर्वाचनको तयारी भएको हो । यसअघि दुई चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने तयारी थियो ।

यसैबीच मन्त्रिपरिषद बैठकले स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगलाई झण्डै साढे १० अर्ब दिने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयलाई चुनावी खर्चका लागि आयोगलाई १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रुपैयाँ दिन निर्देशन दिइएको छ ।