काठमाडौं । राजधानीलाई पूर्वी तराईसँग जोड्ने छोटो सडक वीपी राजमार्गको सिन्धुली–बर्दिबास सडक आइतबारराति देखि अवरुद्ध बनेको छ ।
सिन्धुलीको शितलपाटी ९ त्रिवेणीमा आइतबार राति ११ बजे करिब ३० मिटर सडक भत्किएर सुनकोशी नदीमा खसेपछि सो राजमार्गमा अनिश्तिकाल सम्म सवारी साधन नचल्ने देखिएको छ ।
रातीको समयमा सडक भत्किएको र सो समयमा कुनै सवारी साधन नचलेका कारण मानवीय क्षति भने भएको छैन ।
सडक भत्किएपछि दुबैतर्फको आवागमन रोकिएको छ । सो सडक भन्दा माथि रहेको कच्ची बाटोलाई मर्मत गरेर वैकल्पिक मार्ग खुलाउन सकिने अवस्था रहेपनि यही बाटो मर्मत भएर सवारी चल्ने अवस्था नरहेको प्रहरीको भनाई छ ।
यसैवीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बर्दिबासतर्फबाट आएका गाडीहरु खुर्कोट छेउबाट रामेछापको मन्थली निस्केर दोलखा हुँदै काठमाडौं पुग्न सक्छन् भने काठमाडौंबाट सिन्धुलीतर्फ हिँडिसकेका सवारी साधन पनि दोलखाबाट मन्थली हुँदै खुर्कोट नजिकबाट पास हुन सक्छन् ।
प्रहरीले बारम्बार साना सवारी साधन मात्रै चलाउन आग्रह गरेपनि ठूला सवारी साधनसमेत जबरजस्ती चलाएका कारण बाट भत्किन पुगेको हो । काठमाडौं र तराई जोड्ने छोटो बाटोका रुपमा प्रयोगमा रहेको यो सडक जापान सरकारको सहयोगमा केही वर्षअघि मात्रै निर्माण सम्पन्न भएको होे ।
बाटो निर्माणका बेला दुई लेनको नबनाउन भारतले दबाव दिएको र साँघुरो बाटो बनेको बताइँदै आएको छ । १९ वर्षमा करिब २५ अर्बको लागतमा निर्माण भएको १ सय ५८ किलोमिटर लामो यो सडक २०७१ सालको अन्त्य बाट मात्र पूर्ण सञ्चालनमा आएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागले सो राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण भएपछि विभागका तत्कालीन प्राविधिक निर्देशक शरद अधिकारीको नेतृत्वमा एउटा प्राविधिक टोली बनाएको थियो । सो टोलीमा सडक विभाग र ट्राफिक प्रहरीको पनि सहभागिता थियो ।
टोलीले स्थलगत भ्रमण गरि तत्कालीन विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीलाई बाटो कमजोर र सानो भएकाले दिउँसोमात्र बस चलाउन दिने, घुम्ती बढी भएकाले ४० भन्दा बढी स्पिडमा हाँक्न नपाउने, ठूला र ठूलो भारी बोक्ने सामानका गाडीहरू गुड्न दिन नहुने निश्कर्ष पेश गरेको थियो ।
सोही रिपोर्टका आधारमा तत्कालीन महानिर्देशक बुर्लाकोटीले काम गरेपनि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिले हटाएर चन्द्रमान श्रेष्ठ नियुत्तः गरे ।
श्रेष्ठले विभागमा आउने बित्तिकै प्राविधिक कमिटीको रिपोर्टलाई बेवास्ता गर्दै त्यहाँ प्राविधिक रिपोर्ट विपरित बढी भार क्षमता भएका गाडीहरूलाई रूट परमिट दिएका थिए । सोही कारण बाटोले नथाम्ने अवस्था सिर्जना भएको बताइन्छ ।