एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टाइन संघर्ष समाधानका लागि दशकौंदेखि कायम दुई राष्ट्र समाधान नीति परित्याग गरेको घोषणा गरेका छन् ।
व्हाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता गराउने प्रतिबद्धता जनाए ।
तर यसका लागि दुवै पक्षले मन मार्नपर्ने उल्लेख गरे । इजरायल र प्यालेस्टाइनबीच सन् २०१४ देखि शान्ति वार्ता हुन सकेको छैन ।
सम्मेलनमा ट्रम्पले इजरायली प्रधानमन्त्री नेतान्याहुलाई विवादित क्षेत्रमा वस्ती निर्माणको कार्य रोक्न आग्रह गरेका छन् । गत पहिना ट्रम्प राष्ट्रपति भएपछि इजरायलले प्यालेस्टाइनको पश्चिम किनारा र पूर्वी जेरुसेलममा हजारौं घर बनाउन स्वीकृति दिएको थियो ।
इजरायल र प्यालेस्टाइनबीच दशकौंदेखि जारी संघर्ष समाधानका लागि दुवै पक्षका नेता र अन्तर्राष्ट्रिय समुदायले दुई राष्ट्र सिद्धान्तलाई आफ्ना घोषित लक्ष्य बनाउँदै आएका छन् ।
सोही अनुसार पश्चिम किनारा, गाजा पट्टी र पूर्वीजेरुसेलममा स् १९६७ को युद्धविराम रेखाअघिको क्षेत्रमा एक स्वतन्त्र प्यालेस्टाइन राष्ट्रको निर्माण गर्ने र दुवै राष्ट्रले शान्तिको वातावरण बनाउने उल्लेख छ ।
यो प्रतिबद्धतालाई संयुक्त राष्ट्र संघ, अरब लिग, युरोपियन युनियन, रुस र अमेरिकाले आफ्नो प्रतिबद्धता दोहोर्याउदै आएका छन् । यद्यपि अहिले आएर अमेरिकाले यसबाट पछि हट्ने संकेत गरेको हो ।
दुई राष्ट्र सिद्धान्तबाट पछि हट्नुका अर्थ रिपब्लिकन र डेमोक्रेटिक पार्टीले अपनाउँदै आएको नीतिबाट पछि हट्नु हो । अमेरिकी नीतिबारे खबर सार्वजनिक भएसँगै प्यालेस्टाइन सतर्क हुँदै स्वतन्त्र प्यालेस्टाइनको लक्ष्यबाट पछि नहट्न खबरदारी गरेको छ ।
प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसनकी वरिष्ठ सदस्य हनान अशरावीले यदी ट्रम्प प्रशासनले यस नीतिलाई खारेज गरेमा शान्तिको सम्भावना कमजोर बन्ने र विदेशमा अमेरिकी नीति र उसको हित प्रभावित हुने चेतावनी दिएकी छन् ।