देजमोले देशैभर संगठनको जालो फिंजाउने

देजमोले देशैभर संगठनको जालो फिंजाउने

काठमाडौं । देशैभर संगठनको जालो फिंजाउनेलगायतका महत्वपूर्ण निर्णय गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय समितिको बैठक हालै सम्पन्न भएको छ ।

बैठकले मोर्चा दर्ता गर्दैमा चुनावमा जानुपर्छ भन्ने नहुने भन्दै उपयुक्त समय पारेर मोर्चा दर्ताको जिम्मा केन्द्रीय कार्यालयलाई दिएकाे छ । चुनाव मोर्चाको कार्यनीतिक विषय भएकोले तत्कालीन परिस्थितिको विश्लेषणका आधारमा चुनावमा भाग लिन र बहिष्कार दुवै गर्न सकिने ढोका खुल्ला राख्दै र त्यसको अधिकार कार्यालयलाई दिंदै बैठकले तत्कालका लागि सदस्यता व्यापक रुपमा वितरणसहित संगठन विस्तारमा मोर्चालाई सम्पूर्णरुपले लगाउने निर्णय गरेको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको क्षेत्रमा रहेका विकराल समस्याहरुलाई उठान गर्ने र त्यसको समाधानका लागि जनताको सहभागितासहित पहलकदमी लिने पनि बैठकले निर्णय गरेको मोर्चाका कार्यालय सचिव हरिकृष्ण गजुरेलले बताए । गाउँ गाउँमा संगठनको जालो फिंजाउने, हाते पर्चा बाँड्ने, वालपेन्टिङ, कोणसभा, चोक सभा, टोलसभा गर्ने लगायतका निर्णयहरु मोर्चाको सम्पन्न बैठकले गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)ले संचालन गरेको तीन महिने अभियानसँग जोडेर संगठन विस्तारको अभियानलाई प्रभावकारी बनाउन मोर्चाले जोड दिंदै आएको छ । तीन महिने अभियानले देशैभर क्रान्तिकारी माओवादीतर्फ आम श्रमजीवि जनतालाई आकर्षित गरेको र जनतामा रहेको भ्रम र निराशा पनि चिरिदै गएको क्रान्तिकारी माओवादीका नेताहरुले बताउँदै आएका छन् ।