अब बैंकहरुले घरजग्गा, सवारीसाधन र सेयरधितोमा ऋण नदिने

अब बैंकहरुले घरजग्गा, सवारीसाधन र सेयरधितोमा ऋण नदिने

काठमाडौं । अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गर्दा तरलता अभाव भएको भन्दै बिहीबार नेपाल बैंकर्स एशोसिएसनमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच भएको बैठकले तत्कालका लागि गाडी, घरजग्गा र सेयर धितो ऋण रोक्ने निर्णय गरेको छ ।

अनुत्पादक क्षेत्रमा तत्काललाई लगानी भइरहेको भन्दैे बैंकहरु आफैलाई संयमित हुन विहीवार भएको छलफलमा राष्ट्र बैंकले निर्देशन दिएको थियो । वाणिज्य बैंकहरुको ओभरड्राफ्ट, घरजग्गा र सेयर धितोमा कुल कर्जाको ७३ प्रतिशतसम्म कर्जा लगानी भएको देखिएको थियो ।
चालु आवको ६ महिनामा नै ६० अर्ब रुपैयाँ बराबरको गाडी नेपाल भित्रिएको छ । गाडी खरिदमा बैंकहरुबाट कर्जा लगानी हुने भएकोले पनि यो व्यवसाय मौलाएको हो । तर राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको रुपमा लिदै यसमा बढि कर्जा लगानी भएकोमा समेत आपत्ती जनाएको छ ।
सेयर बजारमा भएको वृद्धि र बैंकहरुबाट भइरहेको कर्जा लगानीले बढेको घरजग्गाको कारोबारमा बैंकहरुको यो कदमपछि मन्दी आउन सक्ने देखिएको छ । ओभरड्राफ्ट कर्जा शिर्षकबाट समेत घरजग्गा र सेयरमा लगानी भएको भन्दै राष्ट्र बैंकले यो शिर्षकको कर्जालाई पनि अनुत्पादक क्षेत्रको रुपमा लिएको थियो ।

उत्पादन लगायत तोकिएको क्षेत्रमा लगानी नबढाएका बैंकहरुले त्यो दिशामा अगाडी नबढे कारवाही समेत भोग्नु पर्ने अवस्था रहेकोले तत्काल बैंकहरुले अनुत्पादक मानिएका कर्जा लगानीमा आफुलाई नियन्त्रित गर्ने सहमति गरेका छन् ।