जेरुसेलम । संयुक्त राष्ट्र संघले इजरायलले पास गरेको विवादित भूमिमा यहुदी बस्ती विस्तारसम्बन्धी कानुनले सीमारेखा पार गरेको भन्दै आलोचना गरेको छ ।
संयुक्त राष्ट्रसंघका मध्यपूर्व शान्ति मामिला हेर्ने प्रतिनिधि निकोले म्लादेनोभले सोमबार राति इजरायली संसदले पास गरेको प्यालेस्टिाइनीको निजी जमिनमा यहुदी बस्ती बसाउने निर्णयलाई ‘साह्रै खतरनाक नमुना’ भएको बताएका हुन् ।
संसदको निर्णयलाई प्यालेस्टिनी नागरिकले ‘वैधतापूर्ण चोरी’ भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले इजरायलको संसद (क्नेसेट) ले प्यालेस्टिनी जनताको इजरायलद्वारा ओगटिएको निजी भूमि र खासगरी सम्पत्तिका विषयमा पहिलो पटक कानुन बनाएको बताउँदै यसले ‘रेड लाइन’ पार गरेको उल्लेख गरेका छन् ।
इजरायलको नयाँ कानुनले पूर्वी जुरुसेलम र वेस्ट बैंकसम्म इजरायलको उपस्थितिलाई आवश्यक भएको पुष्टि गर्ने प्रयास गरेको र यसले दुई देशीय समाधानको मुद्दालाई कमजोर तुल्याएको उनको भनाई छ ।