काठमाडौं । डोपिङ प्रकरणमा दोषी पाइएपछि रुसले यसै वर्ष आयोजना हुने विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिन नपाउने भएको छ ।
रुसमा डोपीङलाई राज्यबाटै प्रायोजन गरिएको खुलासा भएपछि एथ्लेटिक्सको विश्व संगठन आई.ए.ए.एफ.ले रियो ओलम्पिकमा सहभागी हुन प्रतिबन्ध लगाएको थियो ।
हालै सम्पन्न आई.ए.ए.एफ. को कार्यकारी वैठकले रुसमाथिको निलम्बन जारी राख्ने निर्णय गरेपछि आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसिप पनि रुसले सहभागी हुन नपाउने भएको हो ।
विश्व एथ्लेटिक्स च्याम्पियनसिप आगामी अगष्ट ४ देखि १३ तारीखसम्म लण्डनमा हुनेछ । रुसी एथ्लेटले डोपिङ परीक्षणमा मापदण्ड पूरा गर्न सके तटस्थ खेलाडीका रुपमा भाग लिन पाउनेछन् ।