हामी पनि क. लेनिनजस्तै असल कम्युनिष्ट बनौं !

हामी पनि क. लेनिनजस्तै असल कम्युनिष्ट बनौं !

१. तपाई कम्युनिष्ट, कम्युनिष्ट पार्टी र कम्युनिष्ट व्यवस्थालाई मायागर्ने मान्छे अहिले नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी हेर्नु भएको छ ?
नेपालका करीब ८० प्रतिशत जनता समाजवादी व्यवस्थालाई चाहने खालका छन् । यहाँ असंख्य माक्र्सवादी दिग्गज विद्वान विशेषज्ञ नेता तथा बुद्धिजीवीहरु छन् । यहाँ असंख्य माक्र्सवादी क्रान्तिकारी पत्रिका तथा प्रकाशनको एक प्रकारको बाढी नै छ, र बिक्रीपनित्यतिनै सबल छ, यहाँ माक्र्सवादी पार्टी, प्रतिष्ठान, संस्था, समुह र व्यक्तिका गरी असंख्य प्रगतिशील पुस्तक, संग्राहलय (पुस्तकालय) देशभरि यत्रतत्र पाइन्छन्, १० वर्ष जनयुद्ध लडेका छपामार योद्धाहरु मेचीदेखि महाकालीसम्म छ्यापछ्याप्ति भेटिन्छन् । यहाँ कम्युनिष्ट आन्दोलनको सफलता र कम्युनिज्मको स्थापनाका लागि चाहिने सम्पूर्ण पूर्वाधारहरु भरिपूर्ण छन् । यहाँ के पो छैन र ? कम्युनिष्ट आन्दोलनलाई सकरात्मक–नकारात्मक दुबै हिसाबले उर्जा, हुटहुटी, प्रेरणा र प्रमोशन गराउने राजनीतिक, आर्थिक र सामाजिक विसंगति तथा विश्रृङ्खलताले सगरमाथाको उचाइलाई उछिनेको छ । यहाँ चरम महँगी, बेरोजगारी, भोकमारी, मुद्रास्फिति, सामाजिक असुरक्षा, आर्थिक महासंकट, नवउपनिवेशीकरण अनि विदेशी राष्ट्रको मात्र नभई तिनका खुफिया संस्थाहरुको निर्लज्ज, नाङ्गो चलखेल, देशघाती, विखण्डनवादी तत्वहरुको ध्रुवीकरण र लाज शरमहीन विदेशी दुतावासमा हुने सम्मेलन, रात्रीभोज, चियापान र भत्तावितरणको उदाङ्गो क्रियाकलापहरुको चित्र उत्कर्षमा पुगेको छ । इतिहासमा यस्तो बेला कहिले पनि आएको थिएन ।

यसरी कम्युनिष्ट आन्दोलनलाई अनुुकूल बनाई दिने राष्ट्रिय संकट (विषेश गरी महाभुुकम्प २०७२ पछि) एक्कासी उत्कर्षमा पुगेको बेला कम्युनिष्ट आन्दोलन असरल्ल, छरपष्ट र सुस्त छ । यस्तो हुनुको एउटै मूलकारण हो– ‘भिजन’को आभाव । अर्थात् विचारको अभाव अर्थात् दार्शनिक, राजनैतिक, आर्थिक, सामाजिक स्वरुपलाई द्वन्द्वात्मक चेतबाट मापन गरी निदान–निक्र्योल गर्ने र कम्युनिज्मलाई त्यहीअनुसार सृजनशील तरिकाले प्रयोग गर्ने सुस्पष्ट द्वन्द्ववादी दृष्टिचेतको महाखडेरी हो । नेपालको मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलन कै मूल समस्या यहि नै हो । ठोस परिस्थितिको ठोस विश्लेषण द्वन्द्वात्मक भौतिकवादको प्राण हो, आत्मा हो । त्यो प्रााणविना कम्युनिष्ट आन्दोलन जड् मुच्र्छित जस्तै भएको छ । यो अवस्थामा अवसरवादी तत्वहरुको बिगबिगी बढ्छ, सर्वहारा वर्गको हसियाँ हथौडा झण्डा हातमा लिई त्यसकै बल बर्कत प्रभावमा सत्ता स्वार्थपूर्ति गर्ने सामाजिक सामन्तवादी र सामाजिक पूँजीवादीहरुका लागि यो एकदम अनुकूल अवस्था हुन पुगेको छ । तर आशाका किरणहरु पनि केही समययता देखिन थालेको छ,  यो उज्यालोलाई बढाउँदै लानुपर्ने अभिभारा क्रान्तिकारी माओवादीमा आइपुगेको छ ।

२.कम्युनिष्ट आन्दोलनमा लागेर थुप्रै उतारचढाब भोग्नु भएको मान्छे, नेपाली कम्युनिष्ट आन्दोलनभित्र क्रान्तिकारी धाराको नेतृत्व अहिले कुन पार्टी र नेतृत्वले गरेको जस्तो लाग्छ ?
हामीले सैद्धान्तिक घोषणा भन्दा पार्टी र नेताका गति, मति र प्रकृति हेरी कुन र को क्रान्तिकारी धारका संवाहक हुन् भनी निदान निक्र्योल गर्नुपर्ने हुन्छ । मेरो विचारमा बन्दुक समात्ने बित्तिकै क्रान्तिकारी भइँदैन र वैधानिक गतिविधिमा सारिक हुने वित्तिकै अक्रान्तिकारी हुने होइन । द्वन्द्वात्मक भौतिकवादी दर्शनको आधारशिलामा खडा भई कुरो गर्ने हो भने ठीक समयको ठीक मूल्याङ्कन गरी त्यसैको आधारमा ठीक कार्यनीति–रणनीति, आम कार्यक्रम–ठोस कार्यक्रम, प्रचारात्मक नारा र क्रियात्मक नारा, जनमोर्चा निमार्ण, अन्तरविरोधको निक्र्यौल आदि ठीक हिसाबले गर्ने पार्टी र नेतालाई क्रान्तिकारी भन्नुु पर्दछ । पुस्तक अध्ययन गरि बसी समयको आवश्यकताअनुसार नीति कार्यक्रमको तय गर्नु पनि क्रान्तिकारी काम नै हो । क. लेनिनको ३ वर्षीय साइबेरिया निर्वासन कालमा उहाँले केवल अध्ययन, मनन्, चिन्तन, लेखकमा आफूलाई चुर्लुम्म डुबाउनु भयो । त्यतिखेर क्रान्तिकारी काम त्यहि थियो । उहाँले करिब ३३ वटा जति महत्वपूर्ण कृति त्यहि लेख्नु भयो र भावी रुसी कम्युनिष्ट पार्टीको सम्पूर्ण रुपरेखा तयार पार्नु भयो ।

    यो द्वन्द्ववादी चेतले हेर्दा अहिले हाम्रो देश र विदेश सबैतिर निरन्तर (पूर्ण) क्रान्तिकारी धार भएका पार्टी र नेतृत्वको अभाव नै छ । पार्टी र नेताहरु कि त एकदम राइटतिर हुत्तिएका छन् र तिनका काउन्टरमा उभिने जोशमा होश गुमाई अरु केहि चै एकदम लेफ्ट धरातलमा जम्प लगाउन पुगेका छन् । यी दुबैलाई दार्शनिक रुपले क्रान्तिकारी धार भन्न मिल्दैन । तर सापेक्षिक रुपमा हेर्दा नेपालमा क. किरणको नेतृत्वको क्रान्तिकारी माओवादी यी दुवै ह्याङबाट धेरै मुक्त छ, अनि इमान्दारिता, सत्य निष्ठा, कम्युनिष्ट आदर्शको धेरै नजिक छ । यो मेरो विचार नभई पूँजीवादी बुद्धिजीवी, सम्पूर्ण जनता र विदेशी शक्तिले समेत बेलाबखत दिने गरेको अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।

३. क्रान्तिकारी माओवादीमा आबद्ध आम नेता र कार्यकर्तालाई के कस्तो सुझाब दिन चाहनु हुन्छ ?

अरबौं झिङ्गा वा बारुलो वा अरिङ्गाल एक ठाँउमा जम्मा भई गोला बनाई प्रयत्नशील हुन्छन् तर तिनले मह बनाउन सक्दैनन् । अनि एकै ठाउँमा सयवटा मात्र मौरी जम्मा होस्, तिनले प्रयत्न गरे मह निर्माण हुन्छ । मात्रा कम होला त्यो दास्रो कुरा हो । हो, तपाईहरु मौरी अर्थात् सर्वहाराकृत कम्युनिष्ट हुनुहोस् अनि मह (कम्युनिज्म) निर्माण गर्ने कार्य दु्रत गतिमा अधि बढछ् ।
कम्युनिष्ट हुनु भनेको चै जीवन र जगतको गति र मतिलाई यथार्थ रुपमा अध्ययन समीक्षा गरी देशको विशिष्टता पहिचान गर्दै त्यहाँ समतामूलक समाज व्यवस्था स्थापना गर्ने विज्ञान र कलाबाट पूर्ण हुनु हो । क. माओले भन्नुभएको छ– अन्याय भएको देख्दा पनि त्यसको विरोधमा चुपचाप बस्ने व्यक्ति कम्युनिष्ट होइन । म त अझ बढी कुरा भन्छु – नाफा, लाभ, व्याज आर्जनका कारोबारमा रुचि लिने, भोगविलास र तडकभडकमा बाँच्ने, अध्ययन नगर्ने, नशालु पदार्थ सेवन गरी सँधैं असन्तुलित अवस्थामा रहने, स्वास्थसम्बन्धी संचेतना नहुने त्याग, तपस्या, अठोट र बलिदानको भावना नहुने पूँजीवादीहरुले संसारलाई विकृत बनाउन फिंजाएका संचार गतिविधि (टी.भी., पत्रिका प्रकाशक) को अम्मली हुने, साथीभाइ, नेतृत्व र पार्टीलाई भावनात्मक रुपमा प्रेम नगर्ने, निजी आश, त्राश, आत्मसुरक्षाको भाव बढी हुने, आफ्ना महान् गुरुहरुको जीवनप्रति कृतज्ञ वा अहोभाव व्यक्त नगर्ने, द्वन्द्ववादी संचेतना लिई जीवन जगतका हरेक पक्षलाई सम्बोधन गर्न डराउने वा नगरी चूपचाप बस्ने, समाजवादी हार्दिकता नभएको सधैं दुःखी, खिन्न, निराश र नकारात्मक सोच भएको व्यक्ति जतिसुकै माक्र्सवादको विद्वान होस् तर कम्युनिष्ट मानिदैन । स्मरणीय छ– साइबेरियाको माइनस ७५ डिग्री सेल्सीयस तापक्रम भएको ठाउँमा निर्वासित रहँदा पनि क. लेनिनले जीवनमा रक्सी पिएनन् । गोर्कीले लेखेका लेनिनको जीवनी पढ्नुस्, थाहा हुन्छ । त्यस्तै क. लेनिनको दिमाग अत्यन्त तीक्ष्ण, अद्भूत र विश्लेषण क्षमतायुक्त थियो । उनले विश्वका प्रथम साम्राज्यवादी क्रान्ति १९१७ को २४ अक्टोबरको राती जनविद्रोहबाट एक थोपा रगत पनि नबगाई स्थापना गरिदिए । हामी पनि क. लेनिनजस्तै असल कम्युनिष्ट बनौं । अन्त्यमा– धान चोरी खाने मुसाहरु धान गोदाममा असंख्य हुन्छ तर बिरालोको एक म्याउले ती तत्क्षणै लाखापाखा लाग्छन् । विशाल नरभक्षी विषालु सर्पहरुको एउटा ठुलो जमघट वा चौरीमा घाम तपाइ नै किन नहोस् तर एक गरुडको आकाशको उपस्थिति र पखेटाको भ्याटभ्याटले ती सबै जडवत, निस्तेज, त्राहीमाम र हथप्रद भई भाग्छन् । त्यसैगरी, असंख्य देशद्रोही शोषकहरु जम्मा हुन पार्टी खोलून्, तर एक देशभक्त क्रान्तिकारी पार्टी र नेताको हुँकारले ती त्राहीमाम हुन्छन्, प्रतिक्रियावादीहरु सबै कागजी बाघ हुन्, भन्ने माओको भनाई त्यहि कम्युनिष्ट स्प्रिटबाट आएको हो । यहि मर्मलाई बुझी क्रान्तिकारी माओवादी र यसका नेता कार्यकर्ताहरु अघि बढ्नुस् । मेरो क्रान्तिकारी लाल अभिवादन, ऐक्यबद्धता र शुभकामना पनि ।