माघ १६ को पूर्वसन्ध्या पारेर कान्तिपुरी नगरीको सहिदगेटमा तैनाथ राणाकालिन चार सहिद शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथले मलाई विशेष निम्तो दिएर आफ्नो कुटीमा बोलाए । मलाई अचम्म लागो, किन यी मरेका मनुवाहरूले म जिउँदोलाई बोलाए ? मलाई अलिकता डर पनि लागो । कतै मलाई पनि सँधैका लागि आफ्नो कुटीतिरै लान पो खोजेका हुन् कि ? नत्र यो नगरीमा म भन्दा पनि घागडान पत्रकारहरू एकादुई त के दर्जन भन्दा पनि बढि सयौँ पो छन् त । तैतै बोलाईसकेको ठाउँमा नजानु पनि भएन । म अलिअलि डर, अलिअलि आश्चर्य, अलि बढि जिज्ञासा राख्दै लखर लखर गर्दै डायरी, कलम र स्पिकर बोकेर लागेँ सहिदगेट तिर ।

म सहिदगेटको सहिदकुटीमा पुग्दा चारजना सहिद झोक्राएर बसेका थिए । म गेटमा पुग्नासाथ धुरीबाट पिचास राजा त्रिभुवनले ठाडै हकारे — ‘ए कैलुब्राह कस्को आदेशले यो कुटीमा आयौ ? म यो कुटीको राजा हुँ । जिउँदो हुँदा नेपाल मण्डलको राजा थियाँ, मरेपछि सहिदहरूको राजा बनेर यहाँ गद्दीआसिन भयाको छु । राजा भयाका दरबारमा आदेश विना आउन्या पाइँदैन भन्ने कुरो तिमीलाई थाहा भएन ? अझ तिमीले त मलाई स्वस्ती दर्शनभेट पनि ग¥यानउ । कस्ता सोमत नभयाको असत्ती रह्याछौ ।’ मैले कत्ति पनि शीर नझुकाएर ठाडै उनलाई जबाफ दिएँ — ‘म नजन्मिदै तपाइँ मरिसकेको हुनाले तपाइँलाई मैले राजा मान्नु परेन । मैले वाल्यकालमा अवोधमा मान्नु परेका राजालाई तिमै्र सन्तानले कुइरे, खैरे, काले ककसको आदेशमा हो दरबारमै बंशै सिध्याएर मारे । पछि बनेका राजालाई जनताले नै हुत्याएर जङ्गलको कुटीतिर लखेटे । अब मेरो देशाँ राजासाजा छैनन् । त्यसैले तपाइँलाई दर्शन गर्नुपर्ने र तपाइँको आदेश मान्नु पर्ने मलाई कुनै दरकार छैन । मलाई त सहिदहरूले विशेष निम्ता दिएर बोलाएको हुनाले यहाँ आएको हुँ ।’ त्यसपछि उनी चुपचाप भित्र पसे । मलाई देख्नासाथ चार सहिदले भित्र बोलाए । मैले हातमा समाएको पुष्पगुच्छा चारैजनालाई हात हातमा दिएँ र पिर्कामा बसेँ ।

बस्नासाथ मैले के कति काम विशेषले मलाई बोलाउनु भएको होला भनेर सोधेँ । उनीहरूले तपाइँ पत्रकारसँग केही गुनासो पोखौँ भनेर बोलाएको हो भने । मैले खोई त यहाँ अरू पत्रकारहरू त कसैलाई पनि देख्दिन । हाम्रो मण्डलमा त अचेल घरैपिच्छे पत्रकारहरू छन् । म भन्दा कयौँ घागडान पत्रकारहरू ठूल्ठूला सञ्चार चलाएर बसेका छन् । उनीहरूलाई किन नबोलाएको भनेर जिज्ञासा राखेँ । उनीहरू अलि रिसाएको अनुहार लाउँदै जङ्गिएर भने — ‘छोड्नस् यी घागडानका कुरा । तिनीहरू कोही पत्रकार सत्रकार होइनन् । कर्पोरेट हाउसका जुठो चाहार्दै हिँड्ने, दुतावासका हण्डी खाने, सरकारी कलो चाट्ने, जनताका पीरमर्काका बारेमा बोल्ने र आन्दोलन गर्ने असली पार्टीलाई बाइपास गरेर दिउँसै रात पार्न खोज्ने, सरकार चलाउने पार्टीको र नेताको भने भजन गाउने, चाकडी गर्ने, सरकारको विरोध गरेको स्वाङ रच्ने र वार्गेनिङ गरेर सिता सोहर्न पछि नपर्ने, एनजिओ आइएनजिओहरूको चाकडी गरेर फाइब स्टारहरूमा टुप्पीबाट सास फुत्किनेगरी दारू धोक्नेहरू पनि पत्रकार हुन्चन् ? सत्यतथ्य कुरा जस्ताको तस्तै लेख्ने अहिलेसम्म कसैको जुठो नचाटेर निश्कलङ्कित भएको पत्रकार तपाइँलाई मात्रै भेटायौँ त्यसैले तपाइँलाई मात्रै बोलाएको हो । हाम्रा कुरा जस्ताको तस्तै छाप्नुहोला ।’ मैले हुन्छ भन्दै उनीहरूसँग लामै बात मारेँ । धेरै अन्तरङ्ग कुराकानी भए ।

अन्त्यमा मलाई एउटा वक्तव्य दिँदै भने — ‘लौ यो वक्तव्य जस्ताको तस्तै छापिदिनुहोला । अरू ठूला भनिएका मिडियाहरूले काटकुट पारेर आपूmलाई चाहिने कुरा मात्र समाचार बनाएर छाप्चन् । त्यो पनि आफ्नो स्वार्थमा धक्का नलाग्ने भएमा मात्र महत्व दिन्चन् त्यसैले पनि उनीहरूलाई नबोलाएको हो । तपाइँ जनताको पत्रकार भएको र सत्यतथ्य लेख्ने भएकाले तपाइँलाई मात्रै दिएको हो ।’
वक्तव्यको पूर्ण पाठ यस्तो छ —
‘प्यारा देशवासी दुःखी, गरिब, उपेक्षित, उत्पीडित, राज्यले सँधै ठगेका, लुटिएका, हेपिएका चेपिएका, सबै जाति, धर्म, संस्कृति र सम्प्रदायका असली नेपाली रैथानेहरू !
हामीले राणा शासनको अत्याचारका विरुद्ध लड्दा राणाहरूले हामीलाई मारे । त्यसबेला हामीलाई राणाहरूले अपराधी भने पनि सातसालपछि हामीलाई सहिद भन्न थालियो । अहिलेसम्म पनि सहिदको दर्जा त पाएकै छौँ । तर पनि हामीलाई यो विशेषणले मात्र चित्त बुभ्mनै सकेको छैन । पहिलो गुनासो र आपत्ती हाम्रो के छ भने हाम्रो कुटीको धुरीमा भगौडा राजालाई ल्याएर हाम्रो मानमर्दन हुने गरी राखिएको छ । हामी राणाका विरुद्ध लडेर मारियौँ तर कसैका सामू लम्पसार परेर जीवनको भीख मागेनौ । यो राजाले राणा भएपनि उनीहरूकै नातागोताभित्रका खलकसँग लड्न नसकेर ज्यानको भिख माग्दै विस्तारवादी प्रभुको शरणमा देशै छोडेर भागेको हो । यस्तो कायर, गद्धार र लुतेलाई ल्याएर हाम्रो शाषक बनाएर राखिदिए । रैतिहरूले लडेर राणा शासन हटाउने तर भगौडालाई राजा बनाएर प्रभुले पठाए । राणा हटेर के भो त राजा उस्तैगरी शक्तिसाली भएर आयो । यो भगौडालाई आफ्ना मावलीहरूको सत्ता खोस्नु मात्रै थियो, जनतालाई दिनु थिएन । यस्ता पातकीलाई हामीले टाउकामा बोकेर भार थाम्नु परेको छ । यसमा हाम्रो घोर आपत्ती छ ।
दोस्रो कुरा, सातसालदेखि अहिलेसम्मका सरकारका लाउकेहरू र आलोपालो सरकार चलाएका दलका लाउकेहरूले हरेक बर्स माघ १६ गते आएर हाम्रा गलामा माला लगाउँचन् र गोहीका आँशु झार्दै हिँड्चन् । यो कुरा पनि हामीलाई कत्ति मन परेको छैन । सत्ता चलाएका यी असत्ती, कुलाङ्घार, भ्रष्टाचारी, चोर, तस्कर, दलाल, मातृभूमिका हत्याराहरूले सातसाल यता नेपालका नदीनाला सबै बेचेर खाए । दलका लाउकेहरूले आफ्नो स्वार्थमा गरिबगुरुवाहरूलाई लडाएर गलकोटे उखानबहादुरले भनेझैँ साँच्चिकै सहिदको खेती मात्र गरे । सत्तामा गएपछि सबै एउटै बारीका मुला भए । पञ्च, काङ्ग्रेस, एमाले, माके, जातिवादी र क्षेत्रवादी पार्टी चिन्नुबिन्नु क्यै भएन । सबै उस्तै छन् । सबैलाई दक्षिणी र सात समुन्द्र पारीका प्रभुहरूले नचाएका छन् । उनीहरूको दलाली गरेर मोज लुटेका छन् । देशको दोहन गरेका छन् । यस्ता अधर्मीहरूको हातबाट माला भिर्नु पर्दा हामीलाई हुनसम्मको चोट परेको छ ।
सातसालमा काङ्ग्रेसले जनतालाई मराएर मोज लुट्यो । मर्नेहरूको सपनाको हत्या गरे । २८ सालको झापाको साउँब्याज खाएर एमालेका लाउकेहरू बङ्गुरझैँ मोटाएका छन् । एनजिओ, आइएनजिओको ढडिया थापेर डलर कुम्ल्याएका छन् । जनयुद्धमा त झन् दसौँहजार गरिबगुरुवाले बलिदान गरे । आज उनीहरूलाई लडाउने लाउकेहरू मन्त्री प्रधानमन्त्री भएर मोज लुटेका छन् । प्रभुहरूका अगाडि दास बनेर लम्पसार परेका छन् । कमाण्डरहरू र अठन्नी चवन्नी तहका टाठाबाठा हनुमानहरूले तस्करी गर्ने, जग्गा दलाली गर्ने, ठेकेदारसँग मिलेर कमिसन खाने धन्दामा लिप्त भएका छन् । युद्धमा लागेका गरिबगुरुवाहरूलाई असक्षम भनेर खाते बनाएर मिल्काइदिएका छन् । मरेका जति हाम्रो कुटीतिर आएका छन् । बाँचेका जति खाडितिर भौँतारिएका छन् । यस्तो दर्दनाक अवस्था टुलुटुलु हेरेर बस्नु सिवाय अरू केही भएन हामीलाई । देश बर्बाद भइसक्यो । नयाँ लेण्डुपेहरू जुकाझैँ उम्रिएका छन् । यिनले देशै बेच्न थालिसके । यस्तो अवस्था हेर्न नसकेर सोझासिधा इमान्दार राष्ट्रप्रेमी गरिबगुरुवाहरूलाई जागाउनका लागि यो वक्तव्य जारी गरेका छौँ । लाउकेहरू विग्रँदा पनि कसरी चुप लागेर बस्न सकेको । हामी व्यँुतिएर जुनी फेर्न पाए फेरी लड्ने थियौँ । त्यो त सम्भव भएन । बाँचेकाले राम्रोसँग लड र राष्ट्र बचाऊ भन्ने हाम्रो अपिल छ ।’
म निकैबेर घोत्लिएँ यो बक्तव्य पढेर । कुरो सही गरेका छन् त भन्ने लागो । तर यी मरेका मनुवाले म जिउँदो मनुवालाई किन बोलाए त भनेर सोच्दै थिएँ । एक्कासी झल्याँस्स ब्युँझिदा त म त ओछ्यानमा पो रहेछु । कस्तो सपना देखिएछ आज ।
१५ माघ २०७३
kailubraha73@gmail.com

प्रतिक्रिया

सम्बन्धित खवर