समाजवादी क्रान्ति भन्नेहरुले दलाल पुँजीवाद र वैदेशिक प्रतिक्रियावादका विरुद्ध लड्नु पर्दैन ? : अध्यक्ष किरण

समाजवादी क्रान्ति भन्नेहरुले दलाल पुँजीवाद र वैदेशिक प्रतिक्रियावादका विरुद्ध लड्नु पर्दैन ? : अध्यक्ष किरण

काठमाडौं । च्छुक साँस्कृतिक प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘नेपाली समाजको वर्तमान वर्गचरित्र’ विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा जनवादी क्रान्ति भइसक्यो अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्नेहरुले कसका विरुद्ध क्रान्ति गर्ने हो भन्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले समाजवादी क्रान्ति गर्ने भन्नेहरुले वैदेशिक प्रतिक्रियावादका विरुद्ध लड्नु पर्दैन भनेर प्रश्न गरे ।

नेपाली वाम आन्दोलनमा जनवादी क्रान्ति भइसकेको र हुन बाँकी रहेको ठान्ने दुई धार रहेको चर्चा गर्दै अध्यक्ष किरणले नेपाली समाजको वर्ग चरित्रलाई हेर्ने पनि चस्मा फरक फरक रहेको चर्चा गरे । उनले नेपाली समाजलाई वास्तविक रुपमा बुझ्न सही तथ्यांक र सहि विश्वदृष्टिकोणको खाँचो पर्ने पनि औल्याए । नेपाली समाजमा अझै सामन्तवादी अवशेष बाँकी रहेको चर्चा गर्दै अध्यक्ष किरणले नयाँ जनवादी क्रान्ति सामन्तवाद र साम्राज्यवादका विरुद्धको लडाइँ भएकोले अहिले वैदेशिक प्रतिक्रियावादका विरुद्धको लडाइँ प्रधान बनेको स्पष्ट पारे र भने, “नेपाली समाज अहिले पनि अर्धसामन्ती  तथा अर्ध÷नव औपनिवेशिक अवस्थामा रहेको छ । नवऔपनिवेशिकताका विरुद्ध नलडी जनवादी क्रान्ति पूरा भएको मान्न सकिन्न ।”

नेपालमा आफ्नै मौलिकतामा जनवादी क्रान्ति पूरा भएको दावी गर्ने नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)तर्फ संकेत गर्दै अध्यक्ष किरणले एकाथरीले नेपाली समाज अर्धसामन्ती, अर्ध तथा नव औपनिवेशिक अवस्थामा रहेको भन्ने कुरा सुन्नै चाहँदैनन् भने, “समाजवादी क्रान्ति गर्नेहरु कसका विरुद्ध लड्ने हो त ? दलाल पुँजीवाद र वैदेशिक प्रतिक्रियावादका विरुद्ध लड्नु पर्दैन ? वर्गसंघर्षसहितको समाजवाद हो कि होइन ?”

नेपाली समाजको राजनीतिक र आर्थिक रुपले पनि वर्ग विश्लेषण गर्न जरुरी रहेको चर्चा गर्दै अध्यक्ष किरणले जनवादी क्रान्ति पूरा भएको हुन्थ्यो भने नेपालमा सर्वहारावर्गको नेतृत्वमा सम्पूर्ण उत्पीडित वर्ग र समुदायहरुको संयुक्त सत्ता हुनुपर्ने हुन्थ्यो भन्ने दावी गरे । वलप्रयोगको पनि आवश्यकता छैन, सर्वहारावर्गको अधिनायकत्व पनि पुरानो भइसक्यो भनेर एकाथरीले माक्र्सवादको औचित्यमाथि नै प्रश्न उठाएको पनि अध्यक्ष किरणले बताए ।

उक्त बहस कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीताराम तामाङले नेपालको कृषि खेती हलोले जोत्ने अवस्थामा ५२ प्रतिशतभन्दा बढी किसान रहेकोले यसलाई पुँजीवादी भन्न नसकिने दावी गरे । उनले नोकरशाही तथा दलाल पुँजीवादका विरुद्ध नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको चर्चा गर्दै बाहिरबाट थोपरिएको राजनीतिक परिपाटीले मुलुक पुँजीवादमा जान नसक्ने जिकिर गरे ।

बहस कार्यक्रममा एमालेका उपमहासचिव समेत रहेका वामपन्थी विश्लेषक घनश्याम भूसालले नेपाली समाज सामन्तवादी नरहेकोले अब नेपालमा जनवादी तथा पुँजीवादी क्रान्तिको आवश्यकता नरहेको दावी प्रस्तुत गरे । उनले नेपाली समाजमा दलाल पुँजीवादको दबदबा रहेको चर्चा गर्दै एमालेका केही नेताहरुले दलाल पँुजीवाद पनि भन्न नहुने गरेको दावी गरे । उनले राष्ट्रिय पुँजीवादको विकास गरेर मात्र समाजवादमा जान सकिने बताए । उक्त बहस कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य आहुतीले नेपाली समाजको वर्ग निर्माणमा जातमा आधारित रहेको चर्चा गर्दै नेपाली समाज पुँजीवादी भइसकेकोले अब समाजवादतिर जानुपर्ने बताए । १९१० को जंगबहादुर राणाले ल्याएको मुलुकी ऐनबाट नेपाली समाज बाहिर निस्कन नसकेको चर्चा गर्दै आहुतीले संघर्ष अझै बाँकी रहेको दावी गरे ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका उदयीमान अर्थराजनीतिक विश्लेषक रोशन जनकपुरीले कार्यपत्र पेश गरेको उक्त बहस कार्यक्रमको संचालन कवि, लेखक तथा साहित्यकार हिरामणि दुखीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता जनसाँस्कृतिक आन्दोलनका नेता तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष इश्वरचन्द्र ज्ञावालीले गरेका थिए ।