उमेर हद नहटाए स्ववियु चुनावमा भाग नलिने चेतावनी

उमेर हद नहटाए स्ववियु चुनावमा भाग नलिने चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले उमेर हद नहटाए स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग नलिने चेतावनी दिएको छ ।

त्रिभूवन विश्वविद्यालयले स्ववियू निर्वाचनमा २८ वर्षे उमेर हद कायम गरेको छ ।

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी नेविसंघ जिल्ला कार्यसमिति काठमाडौंका सभापति मनोज वैद्यले उमेर हद तोकेर स्ववियु निर्वाचन गराउँछु भन्नु दिवा सपनामात्र हुने टिप्पणी गरे ।

आफूहरु फागुन १४ मै स्ववियु चुनाव हुनुपर्ने पक्षमा भएपनि उमेर हदको विपक्षमा रहेको उनको भनाई थियो ।

कार्यक्रममा उपाध्यक्ष सागर परियारले मिश्रित चुनाव प्रणाली र उमेरको हद तोकेर गरिने स्ववियु निर्वाचनमा नेविसंघले भाग नलिने बताए । उनले जबरजस्ती गर्न खोजे त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिए ।

अर्की उपाध्यक्ष उर्मिला थपलियाले विद्यार्थी हुनका लागि उमेर आवश्यक नभए जस्तै विद्यार्थी आन्दोलन र विद्यार्थीको हकहितको लागि काम गर्न पनि उमेर हद तोक्न नहुने तर्क गरिन् ।