प्रिय छोरी !
मैले तिमीलाई झुपडीबाट उठाएर
सहरको रमझममा डुलाउन सकिन
तिम्रोलागि सहरमा एउटा
रङ्गीन महल जोड्न पनि सकिन
मैले तिमीलाई चराजस्तै उडाएर
अर्को मुलुक कस्तो रहेछ
त्यो पनि देखाउन सकिन
र, तिम्रालागि मुलुकबाट एउटा
सामसुङको आइप्याड
उपहार ल्याउन पनि सकिन ।
प्रिय छोरी !
माफी देऊ है मलाई
मैले तिमीलाई कोटामा
विदेश पढाउन सकिन
जाबो एउटा बलेरोमा
तिम्री आमासँगै सपिङ गर्ने
रहर पनि त थियो होला
मैले तिमीलाई गेटमा तैनाथ
पहरेदारहरूको सलामी खाँदै
सिँहदरबार छिर्ने
आफ्नो सचिव बनाउनै सकिन ।
तिमीले ठानेकी थियौ होला
मेरा बाबा पनि त
यो देशको एउटा
नेता हुनुहुन्छ
मेरो बाबाले पनि झण्डा हल्लाउँदै
कार्गेटका बिचमा बसेर
सहरमा कुद्नुहुनेछ
हो, म तिमीले ठानेको जस्तो
नेता हुन पनि सकिन
नेता हुने रहर जाग्नु पनि त पर्दो हो छोरी
मलाई कहिल्यै जागेन त्यस्तो रहर
नेता हुन त
मुखमा ताल्चा लगाउनु पर्दाेरहेछ
निहुँरिँदै हेडक्वार्टर धाउनु पर्दोरहेछ
नजराना चढाउने कसम खानु पर्दोरहेछ
कर्पोरेट हाउसका कारिन्दासँग
दोस्ती बढाउनु पर्दो रहेछ
झोलामा विकस बोकी हिँड्ने
विकासे ब्यापारीहरूका फाइल
सदर गराइदिनु पर्दोरहेछ
र, प्राप्त कोशेली
हेडक्वार्टरसम्म पु¥याउनु पर्दो रहेछ
त्यसैमा उसको
क्षमता नापिँदो रहेछ
म फेल भएँ छोरी
फेल ।
मैले जुठे कामीसँग
उसको छोरो मागेको थिएँ
विधवा सुन्तली दमिनीसँग
उसकी छोरी मागेको थिएँ
नन्दकली पुनसँग
उसको लोग्ने मागेको थिएँ
र, जिम्दारको खेत जोत्दै गरेको
बुझौना थारुलाई बन्दूक बोकाएको थिएँ
मैले माटोको कसम खाएर भनेको थिएँ
ती सबै सबैलाई –
‘म तिमीहरूका पसिनाको मोल दिलाउने छु
म तिमीहरूलाई एउटा ‘स्वर्ग’ दिलाउने छु’
त्यो पनि सकिन छोरी सकिन
म अझै त्यही सपना
बोकेर निरन्तर
यात्रामै छु छोरी
अर्को यात्रामा ।
१४ पुस २०७३
कान्तिपुर कोशेली ९ पुस २०७३ मा प्रकाशित