हजारौं वर्षदेखि नेपालको राज्यसत्ताको बागडोर प्रतिक्रियावादी वर्गको हातमा रहँदै आएको छ । करिब दुईसय चालीस वर्षदेखि त सामन्ती राजतन्त्रले निरन्तर रुपमा पारिवारिक सत्ता संचालन गर्दै आयो । पछिल्लो चरणमा दैनिक काम कार्यवाहीका निमित्त राजतन्त्रात्मक सत्ताको छत्र छायाँमा निर्मित राणाहरुको जहानीयाँ सरकारले एकछत्र रुपमा १०४ वर्षसम्म नेपाली जनतामाथि शासन गरे । त्यो पनि राणा शासकहरुको मौखिक कानुनका आधारमा राजतन्त्रात्मक सत्ताका विरोध गर्ने त कुरै छाडौं राणाहरुको सरकारको विरोधमा कसैले आवाज उठायो भने पनि फाँसिमा लड्कनु अनिवार्य थियो । आखिरी सचेत नेपाली जनताको होनाहार युवाहरु फाँसिको तख्तामा झुण्डिन पछाडि परेरनन् । यही त्याग, वीरता र बलिदानका बीचबाट पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा चार जनता मिलेर पछिल्लोपटक नेपाल कम्युनिष्ट पार्टीको गठन गरेर प्रतिक्रियावादी वर्गको राज्यसत्तालाई जरैदेखि उखालेर फ्याँक्ने र त्यसको ठाउँमा सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने लक्ष्य बोकेका थिए । आज कम्युनिष्ट पार्टीको स्थापना भएको ६७ वर्ष हुँदैछ । यसो हेर्दा कम्युनिष्ट पार्टी स्थापना भएको धेरै वर्षजस्तो देखिएता पनि पुँजीवादी दर्शनका आधारमा पुँजीवादी सत्ता संचालन हुँदै आएको अवधिलाई हेर्ने हो भने सर्वहारावर्गीय दर्शन माक्र्सवादको उदय भएकै समय पनि त्यति धेरै भैसकेको थिएन । त्यसमा पनि नेपालमा माक्र्सवादी दर्शनको जगमा नै कम्युनिष्ट पार्टीको स्थापना भएको ६७ वर्षको इतिहासि त्यति लामो होइन ।
यति छोटै अवधिमा नेपालको इतिहासमा जनताले चाहेको राज्यसत्ता भनेको सर्वहारा वर्गीय सत्ता नै हो । किनकि कम्युनिस्ट पार्टीको स्थापना भएको केही वर्ष नबित्दै कहिले मजदुरहरुको नेतृत्वमा, कहिले किसानको नेतृत्वमा, कहिले सचेत युवा विद्यार्थीको नेतृत्वमा सानासाना भएपनि वर्गसंघर्षका झिल्काहरु पैदा हुँदै आएको इतिहास हाम्रा सामु ताजै छ । नेपाली जनताहरुको इच्छा, चाहना, मालेमावादको वैज्ञानिक सिद्धान्तको औचित्य, त्यसले पूरा गर्नुपर्ने कर्तव्यबोधका साथ चल्दै आएका वर्गसंघर्षका सानासाना झिल्काहरु समेतलाई संश्लेषण गर्दै तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गते दीर्घकालीन जनयुद्धको कार्यदिशाका आधारमा वर्गसंघर्षको शंखघोष भएको थियो । युगौदेखि प्रतिक्रियावादी वर्गको हातमा रहेको राज्यसत्तालाई जगैदेखि भत्काइदिनु त्यसको ठाउँमा मजदुर किसानमा आधारित सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्नु थियो । राज्यसत्ताद्वारा युगौंदेखि उत्पीडनमा पारिएका महिला, दलितलाई विशेषअधिकारसहित मुक्त बनाउनु थियो भने आदिबासी जनजाति, मधेसी, मुस्लिम लगायत उत्पीडनमा परेका सबैलाई अधिकार सम्पन्न गराउन जातीय पहिचानका आधारमा संघीय राज्यहरु खडा गर्नु थियो ।
यिनै महान लक्ष्यका साथ थालनी भएको जनयुद्धको छेउटुप्पो समेत बुझ्न नसकेका प्रतिक्रियावादी वर्गको राज्यसत्तामा बसेका सरकारमा बसेका र सरकार बाहिर रहेका यथास्थितिवादी झुण्डहरुले माओवादी क्रान्तिलाई तीन महिनामा समाप्त बनाइदिने घोषणासमेत नगरेका होइनन् । दश वर्षसम्म चलेको भीषण वर्गसंघर्षले प्रतिक्रियावादी, अवसरवादी, हवाई कल्पनालाई केवल मिथ्या सावित गरेर देखाइदियो । जनताको कर कठाएर युगौदेखि पालिएका र तालिम लिएर बसेका स्रोत साधन सम्पन्न शाही सेना, प्रहरी, जासुसको जालो सबैलाई च्यातचुत पार्दै सात डिभिजन जनमुक्ति सेना खडा भयो । त्यही सेनाको तागतमा गाउँगाउँमा जनसत्ता र आधारइलाका निर्माण भए । जनताका स्थानीय दुश्मनहरु आत्मसमर्पण गर्न बाध्य भए यात गाउँ छाडेर भागे । त्यतिमात्र होइन सात डिभिजन सेनाका निमित्त आवश्यक न्यूनतम हातहतियारको व्यवस्थापन, लत्ताकपडाको व्यवस्थापन र आवश्यक खानपिनको व्यवस्थापनसमेत स्वयं जनताका तर्फबाट जुटाइएको थियो । पूर्णकालीन नेता, कार्यकर्तादेखि जनमुक्ति सेनाको त्यत्रो फौजलाई जनता स्वयंले व्यवस्थापन गरेका थिए । बरु दुश्मन कोहो र मित्र कोहो भनेर छुट्याउने काममा मात्र होइन दुश्मनका सेनाले घेरा हाल्ने कोशिस गरे भने दुश्मनको घेरा तोड्न मद्दत गर्नेदेखि जासुसहरुको जालो भत्काउने काममा समेत जनता स्वयं जागरुक भएर लागेका थिए ।
जनताको यो महानता तथा जनताका छोराछोरीको त्याग, वीरता र वलिदानको यो महानताले के स्पष्ट गर्दछ भने नेपाली जनता आमूल परिवर्तन गर्न चाहन्छन् । ठोस रुपमा भन्नुपर्दा यो देशमा जनवादी क्रान्ति पूरा गरेर संघीय जनगणतन्त्र हुँदै समाजवाद र साम्यवादको महान लक्ष्य पूरा गर्न जुनसुै कुर्वानी गर्न परेपनि तयार छन् । एकातिर जनताको यो महानता, इच्छा र चाहना छ अर्कोतिर आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेस पार्टी होस् या कम्युनिस्टको खोल आढेको एमाले होस् तिनीहरुले जहिले पनि जनतालाई धोका दिंदै आएको स्पष्ट नै छ । त्यतिबेला कांग्रेस र एमाले मात्र होइन दश वर्षको जनयुद्धको नेतृत्व गरेर आएको माओवादी केन्द्र होस् या नयाँ शक्तिका नाममा गठन गरिएको बुर्जुवा पार्टी होस्, तिनीहरुले सिंगो क्रान्तिको गला रेट्ने मात्र होइन क्रान्तिकारी आन्दोलनलाई उठ्नै नदिने उठिहालेमा प्रतिक्रियावादी वर्गसँग मिलेर दमन गर्ने हर्कतका साथ लागि परेका छन् । वुर्जुवा वर्गको राज्यसत्तामा बसेर सर्वहारा वर्गले जीवन कुर्वानी गरेर प्राप्त गरेका अधिकारहरुलाई क्रमशः समाप्त गर्ने मात्र होइन, राष्ट्रिय स्वाधीनताजस्तो महत्वपूर्ण विषयप्रति सौदाबाजी गरिरहेका छन् । यस प्रकारका हर्कतले यतिबेला जनतालाई निरास पारेको छ । तर यो निरासा अस्थायी मात्र हो ।
सर्वहारा वर्गको मुक्तिका खातिर गठन गरिएको कम्युनिस्ट पार्टीले लक्ष्य उद्देश्यमा आधारित मालेमावादका पथप्रदर्शक सिद्धान्तका आधारमा परिचालित, नेपाली वर्गसंघर्ष मुख्यतः दशवर्षको जनयुद्धका क्रममा जनताका अगाडि जाहेर गरेका प्रतिबद्धतामा अडिग एकमात्र क्रान्तिकारी पार्टी नेकपा (क्रान्तिकारी माओवादी) अहिले पनि लक्ष्य, उद्देश्य पूरा गर्नका निमित्त क्रियाशील रहँदै आएको छ । शान्ति प्रक्रियामा आएपछि सर्वहारा वर्गको विचारबाट विचलित भएकाहरुले माओवादीजस्तो अत्यन्तै ओजिलो नामलाई बदनाम गर्न कतिपय असुहाउदीलो कामहरु यो बीचमा भएका कारण जनतामा केही भ्रम परेका छन् । त्यसैले उक्त क्रमलाई स्पष्ट गर्न अत्यन्तै जरुरत भएको छ । साथै नेतादेखि कार्यकर्तासम्मको टिमले आफ्ना विग्रेका कार्यशैलीलाई बदलेर सर्वहारा वर्गीय कार्यशैलीको अवलम्बन गर्नुपरेको छ । त्यसैले त्यतिबेला नेकपा (क्रान्तिकारी माओवादी)ले “संगठन विस्तार तथा सुदृढीकरण र जनपरिचालन अभियान” अन्तर्गत माघ ५ गते उद्घाटन गरेर चैत्र २४ गते समापन गर्नेगरी योजना बनाएको छ । उपत्यकामा आम जनसमुदायका बीच पार्टी अध्यक्ष क.किरणले उद्घाटन गर्नुभयो । उक्त कार्यक्रम देशव्यापी रुपमा उत्साहवद्र्धक तवरबाट सम्पन्न भएका छन् । यस अभियानलाई त्यही उत्साहका साथ सम्पन्न गर्नुपर्दछ ।
१. मालेमावादका आधारभूत सिद्धान्तहरुलाई ठीक किसिमले बुझ्नु, त्यसको बिकास गर्नु र त्यसलाई प्रयोगमा ल्याउने कुरालाई बुझाइमा एकरुपता ल्याउन स्वअध्ययन गर्नु सम्बन्धित कमिटीमा छलफल गर्नु र निरन्तर रुपमा वर्गसंघर्षमा भाग लिनु हो । सर्वहारा वर्गका नेतादेखि कार्यकर्तासम्म सबै लाल र निपूर्ण हुन आवश्यक छ । लाल र निपूर्णमध्ये मुख्यतः लाल हुनु मुख्य विषय हो ।
२. प्रतिक्रियावादी वर्ग तथा कम्युनिस्ट पार्टीका नाममा जनतालाई भ्रम दिएर यथास्थिति काम गराउन उद्धृत संशोधनवादी दलाल पार्टीहरु अझ हाम्रो सन्दर्भमा माओवादको नामबाट संशोधनवादी दलदलमा अत्यन्तै नराम्रोसँग डुब्दै गएका तर जनतालाई भ्रम दिइरहेकाहरुको वास्तविकतालाई जनताका बिचमा स्पष्ट पार्नु, भ्रममा परेका जनतालाई भ्रमबाट मुक्त बनाउनु हो ।
३. दश वर्षको जनयुद्धले प्राप्त गरेका मूल्य मान्यता उपलब्धी र त्यसलाई गुमाउनु पर्दाको पीडा उपलब्धी गुमाउनुका मुख्य कारणका बारेमा जनतालाई सविस्तार रुपमा बुझाउने विगतमा माओवादी पार्टीले जनताका बीचमा गरेका वाचा पूरा भएका छैनन् । त्यसैले जनतालाई सत्ताको मालिक नबनाइकन हाम्रो आन्दोलन रोकिंदैन, बरु जनताको साथ, माया, ममता, सहयोगको आवश्यकता झनै बढेर गएको छ भनेर स्पष्ट पार्ने । जनयुद्धको बलमा प्राप्त भएका अधिकारहरु समाप्त बनाएर संसदीय व्यवस्था अंगाल्नेहरु माओवादी त हुँदै होइनन्, तिनीहरु त कम्युनिष्टका नाममा कलंक मात्र हुन् । वास्तविक माओवादी त हौ भेनेर स्पष्ट पार्ने ।
४. राष्ट्रियता, जनतन्त्र र जनजीविका अत्यन्तै जटील बन्दै गएका र दलाल सत्ताका विरुद्ध संघर्षमा निरन्तर सहभागी बन्न जनतालाई प्रेरित गर्ने कामलाई निरन्तरता दिने ।
५. वर्तमान विश्वको अन्तरविरोध तथा त्यसैले पैदा गर्न सक्ने नकरात्मक तथा सकारात्मक पक्षका बारेमा अध्ययन, अनुसन्धान तथा वस्तुवादी निस्कर्ष निकाल्न पहल गर्ने । दुश्मनहरुको अन्तरविरोधबाट सर्वहारा वर्गको हितमा, सर्वहारावर्गीय क्रान्तिको हितमा प्रयोग गर्न सकियोस् ।
६. वर्तमान नेपालको वर्ग विश्लेषण, वर्गअन्तरविरोधको अवस्था र त्यसको समाधानको खातिर वर्गसंघर्षको आवश्यकता र त्यसको स्वरुपका विषयमा गहिरो अध्ययन अनुसन्धान गर्ने ।
७. वैचारिक आधारविनाका ठुला ठुला भिड वा अनावश्यक प्रकारका तडकभडकबाट प्रभावित बनेर क्रान्तिकारी विचार, कार्यदिशा त्यसअनुरुप बनेका नीति, योजना, कार्यक्रमप्रति उदासिन बनेर ढिला ढिला कार्यशैली, व्यवस्ताजस्ता विषयहरु न्युन चेतनास्तका उपज हुन् भन्ने कुरा भित्री दिलै महशुस गरे । त्यसलाई चाँडोभन्दा चाँडो सच्याउन कामलाई उच्च प्राथामिकतामा राख्ने । आफ्नै पार्टीले लिएको नीति, आफैले तय गरेका योजना, आफै बसेर गरेका निर्णय र मुख्यतः आफूप्रति आफै इमान्दार बन्न सकियोस् ।
८. सर्वहारावर्गीय विचारका वाहक हामी कम्युनिष्ट भनेका न त कसैप्रति दम्भ, धमण्ड गर्छाैं, न त संख्यात्मक दृष्टिले कमजोर भयौ भनेर निरास नै हुन्छौं । यी दुवै कुरा कम्युनिष्ट आचारणभित्र पर्दैनन् । त्यसैले पार्टीका सहयोद्धा हुनु भनेको जनतामा नम्र, एकअर्काप्रति भावनात्मक एकता, ईखमा साथ सहयोग गर्ने बानिको विकास गर्ने सकियोस् ।
९. विचारलाई आफ्नो कार्यशैलीमा रुपान्तरण गर्नु, कार्यशैलीद्वारा जनताको मन जित्नु, व्यापक जनसंगठनको जालो बनाएर संघर्षका लागि आधार तयार पार्नु, यतिबेलाको मुख्य आवश्यकता हो भन्ने विषयलाई समय तालिका बनाएर जुट्नु हो ।
१०. मालेमावादको सिद्धान्त भनेको नकारात्मकभित्र सकारात्मक देख्ने सिद्धान्त हो । त्यसैले यतिबेला क्रान्ति हारेको छ । तर मालेमावादले हारभित्र पनि जीत देखेको छ । प्रतिक्रियावादी वर्गले जस्तो, संशोधनवादी, सुधारवादी वा अराजकतावादीले जस्तो चिया पसलमा, बाटोमा वा असान्दर्भिक स्थानहरुमा गएर निरासा, कुण्ठा र असन्तुष्टि बाँड्दै हिंड्ने प्रवृत्तिलाई निरुत्साहित मात्र होइन, निर्मुल बनाउन कोशिस गर्नु पर्दछ । किनकि, हामी सर्वहारावर्गको दुश्मन हामीभित्रै छ । हाम्रो नजीकै छ र तसर्थ यस प्रकारका कार्यहरु तुरुन्त रोकेर सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्दछ ।
पार्टीले संचालन गरेको तीन महिने अभियानमा नै सकारात्मक सोचलाई स्थापित गर्नका खातिर आफैभित्र रहेका कयौ रोगका विरुद्ध लड्ने ताकतको निर्माण गरौं । देशीय प्रतिकृयावादी वर्गमात्र होइन वैदेशिक प्रतिकृयावादी वर्गको तागतले पनि सर्वहारा वर्गको अजय शक्तिलाई हल्लाउन सक्दैन । दक्षिणपन्थी संशोधनवाद होस् या नवसंशोधनले फैलाएका भ्रमहरु हुन्, सबैलाई चकनाचुर पार्दै आन्दोलन वा क्रान्तिका निमित्त बलियो आधार तयार पार्न लागांै । यहि नै तीन महिने अभियानको महत्व हो ।
६ माघ, ०७३































