माओवादी केन्द्रको पेरिसडाँडा सुकुम्बासीको घेराउमा

माओवादी केन्द्रको पेरिसडाँडा सुकुम्बासीको घेराउमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडालाई मनोहरा बस्तीका सुकुम्बासीले घेराउ गरेका छन् ।

महिला, बालबालिकासहित मनोहराका सबै सुकुम्बासीले सरकारले मनोहरा जग्गा एकीकरण आयोजना ल्याएको विरोधमा घेराउ गरेका हुन् ।

घेराउ गर्न आएका सुकुम्बासीहरुले आफूहरुलाई बसिरहेकै स्थानमा बसोबासको व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

सुकुम्बासीहरुलाई व्यवस्था नगरिकन सरकारले जग्गा एकीकरण आयोजना अघि सारेर सुकुम्बासीहरुलाई लखेट्न खोजेको उनीहरुको भनाई छ । सुकुम्बासीलाई डोजर लगाएर हाउजिङ बनाउन लागिएको भन्दै उनीहरुले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई दबाब दिन पार्टी कार्यालय घेराउ गरेका हुन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको अगुवाईमा ब्यानर प्लेकार्डसहित नाराबाजी गरेका उनीहरुले माओवादी केन्द्रलाई ज्ञापनपत्र बुझाउन लागेका छन् । सरकारको मनोहरा जग्गा एकीकरण आयोजना खारेज नगरेसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।