पुस २७ गते पञ्चप्रेतहरूको पार्टीले प्रेत राजाको जन्मोत्सव धुमधडकासित मनायो । त्यसदिनलाई पञ्चप्रेतहरूले राष्ट्रिय एकता दिवस भनेर सनातनीदेखि मनाउँदै आएका पनि हुन् । तीसबर्ससम्म रैतिहरूका खुन र पसिनाले जुकाझैँ ढाडिएका पञ्चप्रेतहरूले आफ्नो मालिकको पूजाअर्चना गर्ने कुरा भै नै हाल्यो । यो उनीहरूको सनातनीदेखि चलिआएको कूल धर्म पनि होला । कुलको सोझो गर्नु आस्तिकहरूको धर्मै हो । यो कुनै नौलो र अनौठो विषय पनि भएन । कम्निसहरूले माक्र्सलाई र काङ्ग्रेसहरूले सान्दाजु विपिलाई माने जस्तै पञ्चप्रेतहरूले प्रेत राजालाई मान्नु बराबरी हकदावीको कुरा भै नै गयो । परन्तु यतिखेर त प्रेत राजाको जन्मउत्सव मनाउन शाही कम्निसहरू पनि कम्मर कसेर लागे । झापा आन्दोलनको साँवा ब्याज असुल्दै २०३८ पछि पञ्चप्रेतहरूको व्यवस्थामा घुसपैठ गरी जनवाद खल्तीमा हालेर शाही कम्निस हुँदै यतिखेर सतप्रतिशत खाँटी राष्ट्रवादी बनेको सूर्यछाप बालकोटे कम्निसदेखि दसबर्से युद्ध लडेर जनवाद पूरा गरी लाजिम्पाटमा थन्क्याएर समाजवादमा फड्को मार्न थालेको हँसिया ठोक्केछाप सरकारी कम्निस पनि दस हात उफ्रिँदै प्रेत राजालाई सम्झिएर श्राद्धे गरे । तिमीहरू भन्दा म के कम भन्दै कम्निसको कोट फुकालेर फकिर बनेका गोर्खाली डाक्टरसावले पनि प्रेत राजाको बखान गर्दै तरपण दिए । सरकारी दानापानी खाएका अन्य सानातिना भुरेटाकुरे कम्निसहरूले पनि आआफ्नो गच्छे अनुसार प्रेत राजालाई पिण्ड र तरपण दिए । यसरी यो बर्स प्रेत राजाको फोटोमा अविर र माला अर्पिएर आपूmहरूलाई धन्य धन्य बनाउँदै शाही कम्निसमा पदोन्ती गरे ।
२१औँ शताब्दीका कम्निसहरूले माक्र्स, लेनिन र माओहरूलाई समातेर जनवाद वा समाजवाद ल्याउँछु भनेर भन्नु जड्सूत्र र शास्त्रीय कुरा मात्रै हुन्छ । समयानुकूल आफूलाई बदल्न नसक्ने कम्निसहरू सच्चा कम्निस हुनै सक्दैनन् । त्यसैले यतिखेरका कम्निसहरूले प्रेत राजा महाराजाहरूलाई सम्झनु, उनीहरूको श्राद्धे गर्नु, तरपण दिनु आफ्नो परम कर्तव्य ठान्दछन् । यो हो अहिलेको माक्र्सवाद । त्यही भएर बालकोटे कम्निसदेखि बालुवाटारे कम्निससम्मले यतिखेर पुस २७ गते पञ्चप्रेतहरूको पार्टीले राखेको प्रेत राजाको श्राद्धेमा पिण्ड र तरपण दिन गए । भावुक भए । आँशु झारेर प्रेत राजाको गुणगान गाए । यसैगरी शितलनिवासमा विराजमान कम्निसले प्रेत राजाले यो नेपाल मण्डल नबनाइदिएको भए आफू राष्ट्रको पति बन्ने अवसर नै पाउने थिएन भन्दै प्रेत राजालाई कोटीकोटी प्रणम गरिन् ।
अठारौँ शताब्दीतिर जताततै राजन्त्र थियो । राजाले रैतिहरूलाई सताएको हुनाले कम्निसहरूले राजतन्त्रको विरोध गर्नु परेको हो । यतिखेर जताततैबाट राजा हटिसकेका छन् । अब राजा महाराजाहरूले हकभोग गर्दै आएका सरसुविधाहरू दलका लाउकेहरूले भोग गर्न पाएका छन् । यस्तोवेला प्रेतहरूलाई सराप्नु भनेको २१औँ शताब्दीको माक्र्सवाद हुन सक्तैन । अहिलेको माक्र्सवाद भनेको बाघ, भालु, भेँडा बाख्रा, कुखुरा हाँस, हात्ती, गैँडा, चरा, चमेरा छेपारा, भ्यागुता, सर्प, विच्छी र गोही सबैले आआफ्ना जातीय आहारा त्यागेर सबै एकैथलोमा वसेर घाँस खानु हो । यो हो सिर्जनात्मक माक्र्सवाद । त्यसैले प्रेत राजालाई अबका कम्निसहरूले सराप्ने होइन बरू उनको गुणगान गाउने उनको सिको गर्ने र उनीहरूले छोडेर गएको विरासत पकडेर अगाडि हिँड्ने हो । आफ्ना भोटर रैती मनुवाहरूलाई कसरी तह लाउनु पर्छ, सत्तामा पुगेर भोगविलास कसरी गर्नु पर्छ, आफ्ना सन्तान दरसन्तान, नाता कुटुम्व, इष्टमित्रहरूलाई सत्ताका चास्नीमा डुब्ने अवसर कसरी दिलाउनु पर्छ भनेर राजा महाराजाहरूबाट सिक्नु यतिखेरका कम्निसहरूको कार्यदिशा हो र हुनु पर्छ । पुस २७ को दिवसबाट शाही कम्निसहरूले सिक्ने कुरा यही हो । बालकोटे कम्निसका अठन्नी तहका नेताले त संसदमै प्रेत राजाको सम्मान गर्नु पर्छ भनेर विशेष प्रस्ताव गरिसकेका छन् । उनकै अर्का अठन्नी तहका सांस्कृतिक नेताले त महादेवले सतिदेवीलाई बोकेर फकिर बनेझैँ प्रेतको पुत्ला बोकेर हिँड्न थालेको बर्सौं भयो । तसर्थ अब सबै शाही कम्निसहरूले एकै स्वरमा जयगान गरौँ– प्रेत राजाको जय होस् !
यतिखेर संविधान संसोधनको विषयलाई लिएर राज्यमा हङ्गामा मच्चिएको छ । बालकोटे र गलकोटे कम्निसले संविधान संसोधन भए राज्य चल्नै नदिने भनेर सडकाँ ओर्लेका छन् भने मधेशका महिषपालहरू संविधान संसोधन नभए राज्य चल्नै नदिने भनेर सडकबाट उक्लेका छन् । बालुवाटारे कम्निस यो गरौँ कि त्यो गरौँ भनेर दोधारमा परेका छन् । यस्तोबेला अहिलेको संविधान संसोधनको विधेयक फिर्ता लिएर सबैलाई मान्य हुने संसोधन विधेयक यो कैलुब्राहले पेस गर्न चाहन्छ । त्यसलाई पास ग¥यौँ भने प्रेत र भुतहरू पनि खुसी हुन्छन् । पञ्चप्रेतहरू पनि खुसी हुन्छन् । मधेसका महिषपालहरू पनि खुसी हुन्छन् । डेउडापतिहरूदेखि भुरेटाकुरे दलहरू सबै शुसी हुन्छन् । शाही कम्निसहरूलाई त के खोज्छस् काना आँखो नै हुन्छ । संसोधन गर्नु पर्ने विधेयक यस प्रकारको छ :
‘हामी सार्वभौमसत्तासम्पन्न राजनीतिक ठेकेदार सबै दलहरू; दलको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, भ्रष्टाचारी एकता, पराधीनता र स्वाभिमानलाई प्रभु सामु लम्पसार राखी दलको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; दलहित, ठोकतन्त्र र नेताहरूको सरसुविधाको अग्रगामी परिवर्तनका लागि अबको संविधानमा निम्नानुसारको व्यवस्था गर्दछौँ ।
क) नेपालको संविधान २०७२ मा जेसुकै लेखिएको र व्यवस्था गरिएको भएता पनि अब उप्रान्त राजा संरक्षक रहेको राष्ट्रपति आलङ्कारिक रहेको प्रधानमन्त्री कार्यकारी हुने राजतन्त्रात्मक संवैधानिक प्रभुको इसारामा चल्ने र आशिर्वादमा बाँच्ने जनताको बहुदलीय संसदीय जनवादी प्रजातान्त्रिक दलतान्त्रिक पञ्चायती संघीय गन (गण होइन) तन्त्रात्मक व्यवस्था हुनेछ ।
ख) यो व्यवस्थासँग बाझिने सबै धाराहरू यो संसोधन पारित भएदेखि स्वतह खारेज हुनेछन् ।
ग) अब उप्रान्त खण्ड र अखण्डको झगडालाई साम्य पार्नका लागि पञ्चप्रेतहरूको व्यवस्थामा कायम भइआएको र २०४७ को संविधानले पनि स्वीकार गरेको ७५ जिल्ला १४ अञ्चल र ५ विकासक्षेत्रलाई यथावतै राखी ५ विकास क्षेत्रलाई नै प्रदेश घोषणा गर्ने ।
घ) प्रभुहरूको निर्देशनमा उनीहरूले पठाएका रैतिहरू सबैलाई नेपाली नागरिकता दिने र उनीहरूलाई राज्यका सबै निकायमा राख्ने व्यवस्था गर्ने ।
ङ) संविधानमा समानुपातिकतर्फ दलका लाउके नेताहरूका श्रीमान् श्रीमती, छोराछोरी, भाइभतिजा, भान्जाभान्जी, सालासाली, मामामाइजू, आदि नाता कुटुम्वलाई पहिलो सूचिमा र दललाई आर्थिक सहयोग गर्ने डन, तस्कर, उद्योगी र गुप्त व्यापारीहरूलाई दोस्रो सूचिमा राख्ने व्यवस्था मिलाउने ।
च) हरेक तहमा दुई सदनात्मक व्यवस्था हुने छन् र माथिल्लो सदनमा चुनाव हारेका, प्रभुले पठाएका दूतहरू र समानुपातिकमा पनि छुट्न गएका आफन्तहरूलाई दलहरूको समानुपातिक भागबण्डामा राष्ट्रपतिले नियुक्त गर्ने र राजाले सपथ ख्वाउने व्यवस्था गर्ने ।
छ) राज्यले मनाउने दिवस र विदाहरूमा यसप्रकार संविधानमै व्यवस्था गरिनेछ –
प्रेत र भूत राजाहरूका जन्मदिन,
राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीहरूका जन्मदिनहरू,
धर्मनिरपेक्ष राज्य भने पनि सनातनी धर्मसापेक्ष भनिएकाले हिन्दूका सबै चाडपर्वहरू,
अन्य धर्म र जातजातिका पर्वहरू,
प्रभुहरू यो देशमा आउँदा जाँदाका दिनहरू ।’
प्रेत राजाको जय होस्, पशुपतिनाथले हामी सबै दलहरूको कल्याण गरुन ।
२ पुस २०७३