गोरखा । गोरखामा शौचालयको खाल्डो खन्दा सकेट बम फेला परेको छ । मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको हो ।
बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो बम युद्धकालमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ ।
बम निष्क्रिय गर्न गोरखास्थित रणसिंह दल गणका नेपाली सेनालाई अनुरोध गरिएको प्रहरीले जनाएको छ । अहिले क्याम्पस रहेको स्थानमा द्वन्द्वकालमा सेनाको ब्यारेक थियो ।
घटनास्थल सदरमुकामबाट ३० किमी टाढाको दूरीमा पर्छ । बम फेला परेपछि शौचालयको खाल्डो खन्ने काम रोकिएको बताइएको छ ।