गाम्बियामा संकट बढ्दै, यसरी हुँदैछन् एकै देशमा दुई राष्ट्रपति

गाम्बियामा संकट बढ्दै, यसरी हुँदैछन् एकै देशमा दुई राष्ट्रपति

एजेन्सी– गाम्बियाको राष्ट्रपतिमा निर्वाचित एडम ब्यारोले सेनेगलमा राष्ट्रपति पदको सपथ लिने भएका छन् ।

उनले सामाजकि सञ्जालमा सन्देश लेख्दै सर्वसाधरणलाई सपथ समारोहमा उपस्थित हुन अनुरोध गरेका छन् । 

गाम्बियामा भएको राष्ट्रपतीय निर्वाचनको परिणामलाई अस्वीकार गर्दै वर्तमान राष्ट्रपति यायहा जामेहले राष्ट्रपति पद छाड्न अस्वीकार गरेपछि राजनीतिक संक्रमण चुलिएको हो ।

गत महिना भएको निर्वाचनमा उनी पराजित भएका थिए । उनले निर्वाचनमा निर्वाचन कानुन उल्लंघन भएको आराप लगाउँदै आएका छन् । 
पश्चिम अफ्रिकी सैन्य फोर्स जाम्बियाको सीमामा तैनाथ भएका छन् । उनीहरुले गाम्बियामा सत्ता हस्तान्तरणको लागि दबाब दिने भएका छन् ।

अहिले गाम्बियाको राजधानी सुनसान भएको छ भने सडकहरु खाली भएका छन् । पसल, पेट्रोलपम्प र बैंकहरु बन्द छन् । मानिसहरु अनिश्चित भविष्यका चिन्तामा रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

त्यहाँका जनताले पश्चिमी अफ्रिकी सैन्य बल छिट्टै देशमा प्रवेश गरी हस्तक्षेप गरोस भन्ने चाहेको बताइएको छ । उनीहरु जामेहको कदम प्रति चिन्तित छन् । 

गाम्बियाका सैनिक प्रमुख उस्मान बड्जेइले अहिले भएको राजनीतिक द्वन्द्वमा सैनिकहरु परिचालन नगर्ने बताएका छन् । 

‘यो राजनीतिक विवाद हो । मैले मेरा सैनिकहरुलाई यो मुर्खतापूर्ण लडाइमा सहभागी गराउँदिन, म मेरा साथीहरुलाई माया गर्छु’, वर्तमान राष्ट्रपति जामेहका नजिक मानिने सैनिक प्रमुख बड्जेईले भने । 

समान जातिय पहिचान र समान भाषी सेनेगल र गाम्बियाका मानिसहरु एकै संस्कृतिका मानिस हुन् । नवनिर्वाचित राष्ट्रपति बरो एक हप्ता देखि सेनेगलमा छन् । उनी अफ्रिकी नेताहरुको सम्मेलनमा सहभागी हुन सेनगल पुगेका हुन् ।

उनी अहिलेसम्म घर फर्किएका छैनन् । उनका ८ वर्षिय छोराको कुकुरको आक्रमणबाट मृत्यु भएको छ । उनले आफ्नो छोराको अन्तिम संस्कारमा समेत सहभागि हुन सकेनन् । 

उनी सेनेगलमा शरणार्थी जीवन विताइरहेका करिब २६ हजार गाम्वियानसँगै छन् । २२ वर्ष अगाडि जामेह सामान्य विद्रोहपछि गाम्वियाको सत्तामा आएका थिए ।

यसैबीच गाम्वियाका उपराष्ट्रपति इसातु जेइ साइडीले पदबाट राजिनामा दिएकी छन् । १९९७ देखि उपराष्ट्रपतिको रुपमा रहँदै आएका उनको राजिनामाले जामेहलाई धक्का लाग्ने बताइएको छ ।