एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
गत नोभेम्बर ८ मा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका उनले औपचारिक रुपमा अमेरिकी बागडोर सम्हाल्न लागेका हुन् ।




राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनभन्दा ३० लाख कम मत पाएपनि इलेक्टोरल भोटका आधारमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले ५३८ मध्ये ३ सय ४ इलेक्टोरल भोट पाए भने हिलारीले २ सय २७ इलेक्टोरल भोट मात्रै पाएकी थिइन् ।
ह्वाइट हाउसमा हुने शपथ ग्रहण समारोहको भव्य तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी सामु अमेरिकाको विभाजित समाजलाई एकताबद्ध गर्ने चुनौती छ ।
आफ्नो निर्वाचन अभियान सुरु भएदेखि नै नेटो, आप्रवासी, राष्ट्रसंघ, मुस्लिम समुदाय, चीन र रुसको बारेमा अमेरिकी मान्यताभन्दा फरक र विवादास्पद भनाई राख्दै आएका उनको कार्यकाललाई संसारभरीबाट चासोपूर्वक हेरिएको छ ।
उनले नेटोका सदस्य राष्ट्रको सुरक्षाको खर्च आफैंले बेहोर्नुपर्ने, राष्ट्र संघ पुरानो भइसकेको, अमेरिकाबाट आप्रवासीलाई हटाउने, मेक्सिकोसँग सीमामा पर्खाल लगाउने, रुससँग नयाँ प्रकारबाट सम्बन्ध बढाउने तथा चीनले मुद्राको क्रय मूल्यमा घटबढ गरेको लगायतका भनाई राख्दै आएका छन् । उनका विवादास्पद भनाईको अमेरिकाका सहयात्रीका रुपमा रहेका जर्मनी, बेलायत, फ्रान्सलगायतका देशले समेत आलोचना गर्दै आएका छन् ।
केहीदिन अघि उनले बेलायती र जर्मनको एक पत्रिकालाई दिएको अन्तर्वार्ताको दुवै देशका शीर्ष नेताहरुले चर्को आलोचना गरेका थिए । जसमा उनले बेलायतले ईयूबाट बाहिरिएर राम्रो काम गरेको र भविष्यमा अरु पनि निस्कने तथा जर्मन चान्सलर एन्जेला मर्केलले आप्रवासीलाई देश भित्र प्रवेश दिएर गल्ती गरेको बताएका थिए ।
निर्वाचनका बेला ‘मेक अमेरिका ग्रेट अगेन’ को नारा दिँएका ट्रम्पले अमेरिकी, अर्थतन्त्र, नेटोमा अमेरिकी भूमिका, छिमेकी देशसँगको सम्बन्धलाई कसरी कार्यान्वयन गर्छन् भन्ने विषयलाई चासो पूर्वक लिइदै आएको छ । अमेरिकाले नेटोको ७० प्रतिशत खर्च बेहोर्दै आएको छ भने राष्ट्रसंघमा पनि अमेरिका एक प्रमुख भिटो पावरसहितको राष्ट्र हो ।
ट्रम्प गैरराजनीतिक पृष्ठभूमीबाट अमेरिकाको राष्ट्रपति बन्ने डेभिड आईजन आवरपछि पहिलो व्यक्ति हुन् । उनी अमेरिकाका अर्बपति रियल स्टेट कारोबारी हुन् । ट्रम्पले यसअघि नै आफूले अमेरिकी राष्ट्रपतिको रुपमा आउने तलब सुविधा नलिने यसअघि नै घोषणा गरेका थिए ।
ट्रम्पको कोर टिममा को को हुनेछन् ?
अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शपथ लिन लागेका ट्रम्पले आफ्नो कोर टिममा कट्टर समर्थक पारिवारभित्रैका व्यक्तिलाई नियुक्त गरेका छन् । अमेरिकाको विदेशमन्त्रीको रुपमा रेक्स टिलरसनले भूमिका निर्वाह गर्नेछन् ।
ट्रम्पले विदेशमन्त्रीमा नियुक्त गरेका टिलरसनसँग सरकार या सैनिक कुनै सेवामा काम गरेको अनुभव छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो व्यापारिक सम्बन्ध रहेका उनको नियुक्तिले रुससँगको अमेरिकी सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ ।
ट्रम्प प्रशासनमा रक्षा मन्त्रीको जिम्मेवारी जेम्स मैटिसले सम्हाल्नेछन् । अमेरिकी सेनाका सेवानिवृत्त अधिकारी मैटिसले अफगानिस्तान, इराक र खाडी युद्धमा अमेरिकी सेनाको नेतृत्व सम्हालेका थिए ।
उनी पछिल्लो समयसम्म पनि सेन्ट्रल कमाण्ड चिफ रहेका उनी पछिल्ला ७ वर्षमा समेत सरकारी सेवामा नै रहेका कारण उनको नियुक्तिका लागि कानुन संशोधन गर्नुपर्नेछ । उनी आर्ईएस विरुद्धको अमेरिकी युद्धमा प्रमुख नीति निर्धारक हुने अनुमान गरिएको छ ।
यसैगरी ट्रम्प प्रशासनमा अर्बपति विल्भर रसले वाणिज्य मन्त्री, स्टिभन म्युचिनले वित्तमन्त्री, निक्की हेलीले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतको भूमिका निर्वाह गर्नेछन् भने ट्रम्पका ज्वाई जेरेड कुशनेर मुख्य सल्लाहकार रहनेछन् ।
यसैगरी रिटायर्ड जनरल जोन केल गृहमन्त्री, सीआईएको निर्देशकमा माइक पोम्पेओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल टि फ्लिन, चिफ अफ स्टाफ रेइन्स प्रिएबस र मुख्य रणनीतिकार स्टिफन क बेन्नोन रहनेछन् ।
ट्रम्पमाथि गैरराजनीतिक पृष्ठभूमिका व्यक्ति तथा आफन्त र नातागोता भर्तिकेन्द्र बनाएको आरोप लाग्दै आएको छ ।