अमेरिकी बागडोर सम्हाल्नुअघि ट्रम्पलाई चीनले दियो कडा चेतावनी

अमेरिकी बागडोर सम्हाल्नुअघि ट्रम्पलाई चीनले दियो कडा चेतावनी

एजेन्सी । चार दिनपछि अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्न लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनले ‘एक चीन नीति’ का विषयलाई लिएर कडा चेतावनी दिएको छ ।

चीनको सरकारी पत्रिका चाइना डेलीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको कडा आलोचना गर्दै आगोसँग खेल्न खोजिरहेको बताएको हो । एक चीन नीतिमाथि पटक–पटक प्रश्न उठाउँदै आएका उनले शुक्रबार एक अन्तर्वार्ताका क्रममा ‘एक चीन नीति’ का बारेमा कुराकानी हुनुपर्ने बताएपछि चीन ट्रम्पसँग रुष्ट बनेको हो ।

अमेरिकाले सन् १९७९ मा एक चीन नीतिलाई स्वीकार गर्दै ताइवानसँगको औपचारिक कूटनीतिक सम्बन्ध भंग गरेको थियो । एक चीन नीति भनेको संसारमा एउटा मात्रै चीन छ भन्ने हो । यो नीतिले ताइवानलाई चीनकै अलग प्रान्तका रुपमा मान्दै आएको छ ।

शुक्रबार वालस्ट्रिट जर्नललाई दिएको अन्तर्वार्ताका क्रममा उनले चीनसँग एक चीन नीतिसहित सबै कुरामा छलफल गर्न तयार रहेको बताएका थिए । चाइना डेलीले सोमबार कडा सम्पादकीय लेख्दै ट्रम्पले ताइवानको मुद्दामा आगोसँग खेलिरहेको चेतावनी दिएको हो ।

यसअघि नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कांगले एक चीन नीति बहसको विषय नभएको भन्दै ट्रम्पलाई चेतावनी दिइसकेका छन् । ताइवान ममला समितिकी प्रवक्ता एन फेंगशानले भने, ‘एक चीन नीतिमा कुनै परिवर्तन ताइवान खाडीमा शान्ति र स्थिरताका लागि गम्भीर हुनसक्छ ।’

यसैगरी चीनकै ग्लोबर टाइम्सले छापेको एक लेखमा ‘अनुभवहीन’ भएको बताउँदै एक पटक ट्रम्पले चीनलाई चिढ्याएको र उनको यो आदत बढिरहेको बताएको छ । ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएलगत्तै ताइवानकी राष्ट्रपति साई इंग वेनसँग कुराकानी गरेका थिए ।

यो कुराकानीबाट चीन अमेरिकासँग रुष्ट बन्दै आएको छ । सन् १९७९ पछि कुनैपनि अमेरिकी राष्ट्रपतिले ताइवानका नेतासँग औपचारिक कुराकानी गर्ने गरेका थिएनन् ।