एजेन्सी । भारतको राजधानी नयाँ दिल्ली युवतीहरुका लागि जोखिमपूर्ण सहरको रुपमा रहँदै आएको छ ।
दिल्लीमा हुने पटक पटकका बलात्कारका घटनाले विश्वको ध्यान खिच्ने गरिरहेका बेला एक बलात्कारी पक्राउ परेका छन् ।
पक्राउ परेका आरोपी लामो सयमदेखि यसप्रकारको आपराधिक कार्यमा संलग्न रहेको पाइएको छ ।
प्रहरीले पूर्वी दिल्लीको न्यु अशोक नगर इलाकामा स्कुले किशोरीमाथि पटक पटक बलात्कारमा संलग्न ‘सिरियल रेपिस्ट’ सुनिल रस्तोगीलाई दिल्ली प्रहरीले पक्राउ गरेको हो ।
सोधपुछका क्रममा आरोपीले आफूमाथिको आरोप स्वीकार गर्दै पछिल्ला १२ वर्षमा ६ सय भन्दा बढी युवतीमाथि बलात्कार गरेको स्वीकार गरेका छन् ।
बलात्कार आरोपी रस्तोगीलाई दिल्लीस्थित एक अदालतले १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको छ । उनले किशोरीहरुलाई कुनै वस्तु दिनका लागि बाबुआमाले पठाएको भन्दै फसाउँदै गर्ने गरेका थिए ।
एक अधिकारी ओमवीर सिंहले उनले नाबालिग युवतीलाई निशाना बनाउने गरेको बताएका छन् । जब कुनै बालिका स्कुलबाट घर जाने आउने गरेको देखेपछि तिनीहरुलाई बाबुआमाले कुनै कपडा वा अन्य सामान पठाएको भन्दै एकान्तमा लिएर जाने गर्दथे ।
आरोपीमाथि रुद्रपुर, दिल्ली र गाजियावादमा यौन अपराध तथा चोरीको मुद्धा छ । ३८ वर्षीय आरोपी ३ छोरी र २ छोराका बाबु हुन् । दिल्लीमा हुने यसप्रकारका आपराधिक घटनालाई नियन्त्रण गर्न सरकार असफल रहँदै आएको छ ।