काठमाडौं । विश्वमा पूँजीवादको प्रभावका कारण जनतबीचको आर्थिक असमानता चरमचुलीमा पुगेको देखिएको छ ।
संसारका ८ जना व्यक्तिसँग ३.६ अरब जनताको सम्पति छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ, तर यो वास्तविकता हो । गरिबी घटनाउने उद्देश्यसाथ गठन भएको च्यारिटी संस्था अक्सफामले गरेको अध्ययनमा यस्तो तथ्य भेटिएको हो ।
अक्सफामले गरिब र धनीबीचको खाडल पहिले भन्दा झनै बढेर गएको देखिएको जनाएको छ ।
इन्स्टीट्युट अफ इकोनोमिक अफेयर्सका मार्क लिटिनवुडले भनेका छन्, ‘अक्सफाम धनीबारे धेरै ध्यानमग्न छ र गरिबका लागि काम गर्ने दाबी गर्ने संस्थाले आर्थिक प्रगतिको बाटो सुझाउन ध्यान दिन जरुरी छ ।’
विश्वका आधा जनसंख्या बराबरको सम्पत्ति भएका ८ जनामा अमेरिकाका ६ जना र स्पेन तथा मेक्सिकोका १/१ जना रहेका छन् । स्विटजरल्यान्डको डावोसमा वल्र्ड इकोनोमिक फोरमको बैठकको ठीक अघि अक्सफामको रिपोर्ट आएको हो ।
बेलायतका अर्थशास्त्री गेरार्ड लेयोन्सले जनताको अर्थव्यवस्थालाई सुदृढ बनाउन ध्यान दिन जरुरी रहेको बताएका छन् ।
अक्सफामकी केटी राइटले धनी–गरिबबीचको खाडल निरन्तर बढिरहेका कारण विश्वका जनता दुई खेमामा बाढिइरहेको उल्लेख गर्दै डोनाल्ड ट्रम्प जस्ता व्यक्ति निर्वाचित हनु यसकै परिणाम भएको बताएकी छन् ।
विश्वका आधा जनसंख्या बराबरको सम्पत्ति भएका व्यक्तिमा अमेरिकाका बिल गेट्स, वारेन बफेट, जेफ बेजोन्स, मार्क जुकरवर्ग, ल्यारी एलिसन, माइकल ब्लुमबर्ग, स्पेनका एमेन्सियो ओर्टेगा र मेक्सिकोका कार्लोस स्लिम रहेका छन् ।