वासिंटन । अमेरिकी उपराष्ट्रपति जोय बिडेन स्वतन्त्रता सम्मानबाट सम्मानित भएका छन् ।
राष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति बिडेनलाई राष्ट्रपति स्वतन्त्रता सम्मानबाट विभूषित गरेका हुन् । आश्चर्यजनकरुपमा सम्मान प्राप्त गरेका उपराष्ट्रपति बिडेन भावुक बनेका थिए ।
नागरिकलाई प्रदान गरिने यो सबैभन्दा उच्च अमेरिकी सम्मान हो । अमेरिकी जनता र मुलुकप्रतिको विश्वास एवं जीवनभरको सेवाको कदरस्वरुप सम्मान गर्न पाउनु गर्वको कुरा भएको राष्ट्रपति ओबामाले बताउँदा बिडेनका आँखा आशुले भरिएका थिए ।
राष्ट्रपति ओबामा र उपराष्ट्रपति बिडेन दुवै यसै आगामी साता पदबाट विदा हुँदैछन् । जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि दुवै जना पदबाट बिदा हुनेछन् ।
राष्ट्रपतिबाट सम्मानित उपराष्ट्रपति बिडेनले आगामी दिनमा डेमोक्रेटिक पार्टीकै राजनीतिमा आफूलाई समर्पित गर्ने बताएका छन् । गत वर्षको नोभेम्बर ८ मा भएको निर्वाचनमा विजयी बनेका रिपब्लिकन पार्टीका ट्रम्पसँगै उपराष्ट्रपतिमा माइक पेन्सले अमेरिकी बागडोर सम्हाल्नेछन् ।