
दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्र र काँग्रेसको अपवित्र गठबन्धनबाट अहिलेको सरकार निर्माण भएकाले अहिले जनताले त्यसकै परिणाम भोग्नु परेको बताएका छन् ।




ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको पनि टिप्प्णी गरे । उनले सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको उनको भनाई थियो ।
झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले यो सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने जिकिर गरे । लोकमान जसरी नाङ्गिए त्यसरी नै यो सरकार जनताका बीच आफै नाङ्गिँदै गएको उनको दाबी थियो ।
वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनुको सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत भएको आरोप लगाए ।
निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै उनले मुलुकको अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको टिप्पणी गरे ।
ओलीले संविधान संशोधन विधेयक संसदमा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने ठोकुवा गरे । संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उनको भनाई थियो ।