‘राष्ट्रघातको शृंखलालाई प्रचण्डले क्लाइमेक्समा पुर्याए’

‘राष्ट्रघातको शृंखलालाई प्रचण्डले क्लाइमेक्समा पुर्याए’

वीरेन्द्रनगर । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय कार्यलय सदस्य हरिभक्त कंडेल ‘प्रतिक’ ले पानी, बिजुली जस्ता वस्तु कच्चा पदार्थ भएको उल्लेख गर्दै कच्चा पदार्थ बेच्नु भनेको देश बेच्नु जत्तिकै राष्ट्रघाती भएको बताए ।

नेपालमा अहिले राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा रहेको उल्लेख गर्दै उनले मुख्यगरी राष्ट्रियताको आन्दोलनलाई आन्तरिक र बाह्य दुवै क्षेत्रबाट अघि बढाउनुपर्नेमा जोड दिए ।

सरकारले भारतीय बहुराष्ट्रिय कम्पनी जिएमआरसँग गरेको माथिल्लो कणाली जनविद्युत सम्झौताको विरोधमा तीन कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको विरोध कार्यक्रममा उनले नेपाल पुँजीवादी प्रभावबाट उदारिकण र निजीकरणको दिशामा गएको उल्लेख गर्दै उनले यसले देशको समग्र विकास प्रक्रियालाई नै अवरोध गरिरहेको बताए ।

उनले भने, ‘क्रान्तिकारी कम्युनिष्टहरु राष्ट्रवादी हुन्छन्, तर नामधारी कम्युनिष्टहरु राष्ट्रघाती र दलाल हुने भएका कारण अहिले उनीहरु राष्ट्रको उन्नति प्रगतिको बाधक बन्दै विदेशी शक्तिकेन्द्रको इशारामा नाच्ने गरेका छन् । यसले झनै राष्ट्रियतालाई कमजोर पारिरहेको छ ।’

नेपालमा नै कम्युनिष्ट पार्टीहरु सरकारमा गएका बेला एउटा र सरकारबाहिर रहेका समयमा अर्को गरी दोहोरो चरित्र देखाउने गरेको उल्लेख गर्दै उनले त्यसलाई कम्युनिष्ट पार्टीले नसच्याएसम्म अघि बढ्न कठिन हुने बताए ।

‘कम्युनिष्ट पार्टीमा अर्को मुख्य समस्याका रुपमा संकीर्ण सोच पनि देखिने गरेको छ । यसैका कारण कम्युनिष्ट पार्टीमा बेलाबेलामा विभाजन आउने गरेको छ’, उनले भने, ‘कम्तीमा पनि एकै ठाउँमा बसेर संघर्ष गर्न सक्ने अवस्थासम्म पार्टीलाई फुट्न दिनु हुँदैन ।’

अहिले रुपमा देशमा गणतन्त्र आएपनि सारमा यो व्यवस्था दलाल, पुँजीवादी, नोकरशाहीकै हातमा रहेको उल्लेख गर्दै उनले यस्तै शक्तिलाई हातमा लिएर विदेशी शक्तिले शासक वर्गलाई राष्ट्रघाती सम्झौता गराइरहेको उनको भनाई थियो ।

आफूलाई कम्युनिष्ट भनाउनेहरु नै राष्ट्रघाती कार्यमा अघि रहेको उल्लेख गर्दै पञ्चायतदेखि सुरु भएको नदीनाला बेच्ने र राष्ट्रघाती कार्यमा अघि रहेको उल्लेख गर्दै पञ्चायतदेखि सुरु भएको नदीनाला बेच्ने र राष्ट्रघाती कदमहरु चाल्ने शृङखलाको उत्कर्षको रुपमा विप्पा हुँदै २५ बुँदे समझदारीसम्म आएर जनयुद्धको नेतृत्व गरेका प्रचण्डबाट नै संस्थागत हुन पुगेको दृष्टान्त प्रस्तुत गरे ।

राज्यले नै कर्णाली परियोजना निर्माण गर्न सकिने उनको भनाई थियो । ‘हामीले विरोधका लागि विरोध गरेको होइन, राष्ट्रकै लगानी र जनताको शेयरबाट माथिल्लो कणालीजस्ता परियोजना सम्पन्न गर्न सकिन्छ । पानी कच्चा पदार्थ हो, पानी बेच्नु भनेको देश बेच्नु सरह नै हो ।’

उनले भने, ‘कम्तीमा पनि अहिले हामीले कच्चा पदार्थ बेच्ने बेला भएको छैन । कच्चा पदार्थ बेच्ने भनेको आफूले उत्पादन गरेर पु¥याएर बाँकी रहेको कच्चा पदार्थ बेच्ने हो । के अहिले त्यो अवस्था आएको छ ?’

यस्तै नेपाल सुन्दर देश भएका कारण पनि पर्यटकका लागि आकर्षक गन्तव्य स्थान भएका कारण धेरै पर्यटकलाई लोभ्यान सक्ने पर्यटकीय हबको रुपमा विकास गर्न सम्भव रहेको उनको भनाई थियो । यसरी पर्यटकलाई भित्र्याउन सकेमा देशमा आर्थिक उपार्जनका लागि ठूलो स्रोत बन्ने उनले बताए ।

नेपालमा श्रम बैंक स्थापना गर्न सकिने र दशौं हजारले रोजगारी पाउने अवस्था रहेको उल्लेख गर्दै ठूला ठूला परियोजना आफै निर्माण गरेर जनताको जीवनस्तर सुधार गर्न सकिनेमा जोड दिए ।

भारतीय कम्पनीसँग भएको पीडीए र पीटीए खारेज गरी नेपाली आफैंले माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतका ठूला सर सस्ता परियोजना निर्माणको वातावरण सिर्जना गरिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा माओवादीका नेता हेमन्तप्रकाश वली (सुदर्शन) ले यो सम्झौता राष्ट्रघाती भएको भन्दै य खारेज गरी स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्ने बताए । उनले राष्ट्रको हितभन्दा राष्ट्रघाती काम गर्नेहरुको सरकारमा बाहुल्यता रहेको उल्लेख गर्दै यस्ता नेताहरुलाई दण्डित गरिनुपर्नेमा जोड दिए ।

माथिल्लो कर्णाली लगायतका असमान सन्धी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने वलीको भनाई थियो ।

त्यस्तै नेकपा मसालका नेता भैरवराज रेग्मीले माथिल्लो कर्णाली जलविद्युत् परियोजना विदेशीलाई नभई स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्ने आफूहरुको अडान कायम रहेको बताए ।

राष्ट्रघातविरुद्ध नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा (माओवादी) र नेकपा मसालले संयुक्त कार्यक्रम घोषणा गरेका थिए । जनस्रोतमा भएका असमान सन्धी सम्झौताका विरुद्धमा काठमाडौं, सुर्खेत र संखुवासभामा बेग्लाबेग्लै कार्यक्रमको घोषणा गरिएको थियो ।