एजेन्सी । उत्तरी ब्राजिलको एउटा जेलमा आपराधिक समूहले ३३ जनाको टाउको काटेर हत्या गरेको छ ।
यही साता ब्राजिलको एक जेलमा दुई समूहबीच भएको दोहोरो झडपमा ५६ जनाको मृत्यु भएको थियो ।
ब्राजिलका अधिकारीहरुले ३० वटा भन्दा बढी टाउको छिनाएको अवस्थाका शबहरु भेटिएको पुष्टि गरेका छन् ।
सो घटनामा राज्यको लागु औषध तस्कर समूहको हात रहेको कानुन सचिव उज्जेल क्यास्ट्रोले जनाएका छन् ।
ब्राजिलमा लागु औषध तस्करहरुको समूहबीच जेलमै हिंसात्मक भिडन्त भएको जनाइएको छ । लगातार भएका यसप्रकारका हिंसाका घटनाले ब्राजिली जेलभित्रको सुरक्षा अवस्था कमजोर रहेको देखाएको छ ।
ब्राजिल विश्वमै सबैभन्दा धेरै कैदी भएका मुलुकमध्ये चौथो नम्बरमा पर्दछ । जहाँ करिब ६ लाख कैदीले जेल भुक्तान गरिरहेका छन् ।
ब्राजिलमा यस प्रकारका हिंसामा लागु औषध तस्कर समूह पीसीसीको संलग्नता रहने गरेको कानुन मन्त्री अनेक्जान्द्रे मोराएसले जनाएका छन् ।
सन् २०१२ मा सरकारले सार्वजनिक गरेको रिपोर्ट अनुसार यो समूहले ३२ मिलियन डलर सम्मको लागु औषध बेच्ने गरेको भने यो समूहका १३ हजार सदस्य जेलमा मात्रै रहेका छन् ।































