संगठन र संघर्षको अन्तर–सम्बन्ध

संगठन र संघर्षको अन्तर–सम्बन्ध

“एउटा नयाँ पार्टीको निर्माण गर्दा आम रुपमा पार्टी संगठनलाई तत्काल पुरै देशभरि विस्तार गरिहाल्नु पर्दछ भन्ने प्रवृत्ति देखा पर्दछ । यस प्रकार पार्टीसँग कार्यकर्ताहरुको संख्या अत्यन्त सीमित छ भन्ने कुरालाई ख्याल नगरीकन तिनै सीमित कार्यकर्ताहरुलाई चारैतिर छरिदिने गरिन्छ । यसबाट पार्टीमा नयाँ कार्यकर्ता भर्ती गर्ने क्षमता कम हुन्छ र पार्टीको विकासमा पनि मन्दता आउँछ । यस अवस्थामा पार्टी कार्यालयहरुको एउटा व्यापक सञ्जाल त अवश्य नै विकसित भएको देखिन्छ । तर पार्टी भने अत्यन्तै महत्वपूर्ण औद्योगिक सहरहरुमा समेत आफ्नो प्रभाव क्षेत्र कायम गर्न समर्थ हुँदैन ।” – लेनिन

उपरोक्त भनाई पार्टी निर्माणको विषयसँग ऐतिहासिक रुपमा जोडिएको छ र क्रान्तिकारीहरुले संगठन निर्माणमा त्यो मान्यतालाई मार्ग दर्शनको रुपमा लिनुपर्ने देखिन्छ । सामान्यतः भावनात्मक रुपमा पार्टी एकैपटक देशव्यापी होस् भन्ने चाहना देखिन्छ र त्यो एउटा आम प्रवृत्तिजस्तो नै बन्दछ । तर पार्टी निर्माण गर्दा त्यसप्रकारको भावनाले भन्दा पनि भौतिकरुपमा पार्टीको अवस्था कस्तो छ ? कार्यकर्ता कति छन् ? र कार्यकर्ता कस्ता छन् ? भन्ने कुराले महत्व राख्दछ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालकै कम्युनिष्ट आन्दोलनको इतिहासबाट हामीले महत्वपूर्ण अनुभव हासिल गरिसकेका छौं । तर पनि संगठन निर्माण र क्रान्तिकारी संघर्षलाई अगाडि बढाउन हामी वस्तुवादी कम र मनोगतवादी बढी हुने गर्दछौं । तसर्थ लेनिनको उपरोक्त भनाइलाई आत्मसात गर्दै हाम्रो विशेषतामा पार्टी संगठनको निर्माणमा ध्यान केन्द्रित गर्न जरुरी छ । यतिबेला क्रान्तिकारी आन्दोलन कमजोर अवस्थामा रहकोले कार्यकर्तामा एउटा प्रकारको निराशा र पलायनता आम प्रवृत्तिजस्तै बनेको देखिन्छ । तर समाजको वस्तुगत अवस्थाले परिवर्तन तथा क्रान्तिकारी आन्दोलनको माग गरिरहेको ऐतिहासिक पृष्ठभूमिमा कम्युनिष्ट क्रान्तिकारीहरुले कुशलतापूर्वक त्यो दायित्व बहन गर्नुपर्ने आवश्यकता छ ।

यतिबेला हाम्रो पार्टीले जुन प्रकारको नीति अवलम्बन गरेको छ, त्यसले माग गरेनुसारको संगठन र संघर्षलाई विकास गर्नु नै हाम्रो कर्तव्य हो । आज वैचारिक, राजनीतिक रुपमा पार्टीले जुन उचाईं प्राप्त गरेको छ, त्यो उचाइलाई संगठन र संघर्षको क्षेत्रमा कार्यान्वयन गर्ने कुरा गम्भीर चुनौतीको विषय बनिरहेको छ । यसप्रकारको अवस्थामा पार्टीका आम र विशिष्ट नीतिको कार्यान्वयन गर्ने मुख्य औजार संगठन भएकोले त्यसमा नै ध्यान केन्द्रित गर्न जरुरी छ । संगठन जति मजबुत र शक्तिशाली हुन्छ, पार्टीका उद्देश्यहरु त्यही रुपमा प्राप्त हुँदै जाने कुरा प्रष्ट छ । त्यसैले अहिलेको हाम्रो केन्द्रीय विषय पार्टीलाई नयाँ ढंगले विकास गर्दै संघर्षको नेतृत्वदायी रुपमा स्थापित गर्नु हो । त्यो गर्नका लागि हामी खडा भएको भौतिक शक्तिको सहि प्रयोग र नयाँ पुस्तामा पार्टी विस्तारलाई ध्यान दिन जरुरी छ । अहिले हामीले एकैसाथ देशव्यापी ठूला ठूला संघर्षको घोषणा गरेर भन्दा पनि हाम्रो संगठनको अवस्थालाई ध्यान दिइएर भएको शक्तिलाई केन्द्रीकरण गर्दै संगठन र संघर्षमा लगाउनु नै सही हुनेछ । राजनैतिक तथा संघर्षका हिसाबले महत्व राख्ने ठाउँलाई केन्द्र बनाउँदै भएको शक्तिलाई केन्द्रीकरण गर्ने नीतिले निश्चय नै संगठनको आधार बनाउनुको साथै विस्तार गर्न पनि सघाउ पु¥याउने छ । विगतमा भएका संघर्षको इतिहासले पनि त्यो कुरालाई राम्ररी प्रमाणित गर्दै आएको छ । जहाँ जनआधारित सघन संगठन हुन्छ, त्यहीं नै संघर्षको विकास हुन्छ । त्यसैले संगठनको विस्तार तथा संघर्षले राष्ट्रिय रुप लिंदै आएका तथ्यहरु विश्व र नेपालको विभिन्न संघर्षहरुले प्रमाणित गरेको छ । यसर्थ, यतिबेला पार्टीको संगठनात्मक अवस्था कमजोर रहकोले त्यसलाई ध्यान दिंदै संगठन निर्माण र संघर्ष सम्बन्धी कार्यक्रम बनाउनु नै सही हुनेछ । यो कुरा पार्टी संगठनसँग मात्र सम्बन्धित विषय नभएर समग्र प्रकृति विज्ञानको पनि पद्धति हो । जस्तो हामीसँग प्रशस्त जमिन छ, तर बिउ सीमित छ भने हाम्रो चाहना सबैमा उत्पादन गर्ने भावना हुँदा हुँदै पनि बिउ जति छ, त्यो आधारमा नै खेती गर्न सकिन्छ । ठीक त्यो कुरा पार्टी संगठनको सम्बन्धमा पनि सही हो । आज कम्युनिष्ट आन्दोलन संगठनात्मक दृष्टिले कमजोर भएको तथ्यलाई स्वीकार गर्दै त्यसको जगमा नै पार्टी निर्माण र विस्तार गर्नुपर्दछ ।

यतिबेला ध्यान दिनुपर्ने मुख्य विषय कामको केन्द्रीकरण गर्दै राजनैतिक महत्व तथा संगठनात्मक सघनताका आधारमा कार्ययोजना बनाउनु पर्दछ । पेरिस कम्युन, अक्टोबर क्रान्ति, चिनियाँ क्रान्तिलगायत नेपालमा चलेका विभिन्न वर्गसंघर्ष र जनयुद्धका अनुभवलाई समेत अध्ययन गर्दा पनि यो कुरा प्रमाणित भएको छ कि जहाँ सघन संगठन छ, संघर्ष त्यहींबाट विकास हुन्छ । तसर्थ, हामीले यतिबेला संगठनको योजना बनाउँदा ति सबै अनुभवका साथै आजको विशिष्ट स्थितिलाई ध्यान दिन जरुरी छ । लेनिनले भनेझै थोरै शक्तिलाई सबैतिर छिरल्दा सामान्य सम्पर्क त हुन्छ तर ठोस परिणाम दिंदैन । यो कुरालाई आत्मसात गरेर नै आजको संगठन र संघर्षसम्बन्धी कार्यक्रम बनाउनु उपयुक्त हुनेछ । हाम्रा चाहनालाई भन्दा वस्तुगत परिस्थितिलाई केन्द्रमा राखेर बनाउने योजना सफल हुन्छन् ।