भारतले चीनलाई माथ दिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले चीनलाई माथ दिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

एजेन्सी । भारतले अग्नी–५ नामक क्षेप्यास्त्र परीक्षण गरेपछि चीनले त्यसप्रति चासो देखाएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिइङले भारतको क्षेप्यास्त्र परीक्षणप्रति चीनको गम्भीर चासो व्यक्त गरेकी हुन् ।

भारतले चीन तथा युरोपसम्म मार हान्न सक्ने क्षमताको मिसाइल प्रक्षेपण गरेपछि चीनले त्यसमा चासो व्यक्त गरेको हो । चीन सधै दक्षिण एसियामा शान्ति र सम्वृद्धिको पक्षमा रहेको उल्लेख गर्दै चुनिइङले यस क्षेत्रको स्थायित्वका लागि चीनले काम गर्न चाहेको उल्लेख गरेकी छन् ।

उनले भारतले चीनविरुद्धमा मिसाइल परीक्षण गरेको हल्ला आफूहरुले सुनेको उल्लेख गर्दै भारतसँग मिसाइल परीक्षण गर्नुको उनीहरुको उद्देश्य के हो भन्नेबारेमा सोध्नुपर्ने बताएकी छन् । उनले चीन र भारतबीच आपसी विवाद नरहेको समेत प्रष्ट पारिन् ।

उनले भनिन्, ‘हाम्रो पक्षबाट भन्नुपर्दा चीन र भारत आपसी दुश्मन होइनन्, हामी आर्थिक विकासका उदाउँदो शक्तिका व्यवसायिक साझेदार हौं ।’ चीनले सधैं क्षेत्रीय विकासका लागि भारतसँग सहकार्य गरेर काम गर्न चाहेको उनको भनाइ थियो ।

‘हामी यस क्षेत्रको स्थायी शान्ति, स्थायीत्व र सम्वृद्धिका लागि भारतसँग लामो सम्बन्ध चाहन्छौं’, उनले भनिन्, ‘हाम्रो आशा छ मिडियाहरुले हाम्रो आपसी सम्बन्ध क्षेत्रीय शान्ति र स्थायित्वलाई असर नपु¥याउने गरी संवेदनशील ढंगले रिपोर्ट गर्ने छन् ।’

मिसाइल प्रक्षेपण गरेसँगै भारतीय सञ्चार माध्यमले चीनलाई माथ दिने गरी मिसाइल प्रक्षेपण गरेको भन्दै समाचार प्रकाशित गरेपछि चीन सशंकित भएको हो ।