नयाँदिल्ली । भारतीय सत्तासिन वर्गका विरुद्ध नयाँ जनवादी सत्ता स्थापनाका लागि युद्धरत भारतीय माओवादीले राज्यको हत्या, दमन र आतंकका विरुद्ध १० दिने बन्दको आयोजना गरेको छ ।
भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार भारतीय माओवादीले डिसेम्बर २५ देखि जनवरी ३ सम्म बन्दको आयोजना गरेको छ ।
बन्दलाई प्रभावकारी बनाउन भाकपा (माओवादी)का छापामारहरुले २४ तारिखका दिन बहुराष्ट्रिय कम्पनी ल्वायड मेटल्स एन्ड इनर्जी कम्पनीसित सम्बद्ध ७० ओटाभन्दा बढी गाडीहरू जलाइदिएका छन् ।
भारतको आदिवासीहरुको सघन बसोबास रहेको क्षेत्र छत्तिसगढमा हत्या र आतंकको पर्याय बनेको भारतीय कथित सुरक्षा फौजले हालै छत्तीसगढ राज्यको बस्तर जिल्लाको मेटापल जङ्गलमा लगेर १३ बर्से बालकलाई माओवादी कम्ब्याट ड्रेस लगाइदिएर रुखमा बाँधेर पहिले बन्दुकको कुन्दाले हानेर र पछि गोली ठोकेर मारेको र उल्टै प्रहरीको एसपीले “दोहोरो भिडन्तमा अपरिचित नक्सली मारिएको” भनेर वक्तव्य दिएको घटनाको मानवअधिकारवादी लगायत चौतर्फी रुपमा विरोध भइरहेको अवस्थामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)ले बन्दको आयोजना गरेको छ ।
आदिवासीहरुलाई उठिवास लगाएर उनीहरुको आदि भूमिमा बहुराष्ट्रिय कम्पनीहरुले प्रदूषण फैलाएको र खानी सुरक्षाका नाममा प्रहरी गतिविधि बढाएर सोझासिधा आदिवासीमाथि बर्बर दमन गरेको भनेर आम आदिवासी, मानवअधिकारवादी संघ संस्था र भाकपा (माओवादी)ले विरोध गर्दै आएको छ ।